टोकियो – फुकुओका प्रान्तको कुरुमे शहरमा एक ६६ वर्षीय वृद्धलाई अन्य व्यक्तिको घरको परिसरमा अनधिकृत रूपमा प्रवेश गरेको आरोपमा जापानी प्रहरीले पक्राउ गरेको छ । आरोपीले प्रहरीसमक्ष दिएको बयानले घटना झन् चाखलाग्दो बनाएको छ- उनलाई ‘मानिसहरू यौन सम्पर्कमा रहेको आवाज सुन्नु मन पर्छ ।’
जापानी टेलिभिजन च्यानल NTV का अनुसार, शनिबार राति ११:५८ बजे घरधनीले आफ्नो बगैंचामा एक अपरिचित वृद्धलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसअघि छिमेकीले बगैंचाभित्र अनधिकृत व्यक्ति देखेर तुरुन्तै घरधनीलाई जानकारी गराएका थिए ।
घटनास्थलमा छिमेकीले ती वृद्धलाई बगैंचाबाट निस्कँदै गर्दा नियन्त्रणमा लिई प्रहरी आउन्जेलसम्म समातेर राखेका थिए । प्रहरीले उनलाई घटनास्थलबाटै पक्राउ गरेको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा आरोपीले भनेका छन् कि उनी यस्ता घटना पहिले पनि गरिसकेका हुन्, र मुख्य उद्देश्य भनेकै ‘पुरुष र महिलाबीचको यौन क्रियाकलापको आवाज सुन्नु’ हो ।
हाल प्रहरीले उनलाई गैरकानुनी रूपमा निजी सम्पत्तिमा प्रवेश गरेको अभियोगमा अनुसन्धान अघि बढाएको छ । घटनाले स्थानीय बासिन्दामा सुरक्षा सम्बन्धी चासो समेत बढाएको देखिएको छ ।