समाचार सुन्नुहोस :
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भेटघाट भएको छ। यसभन्दा अगाडि गत बिहीबार तीन दलको शीर्ष नेतृत्व बैठकमा प्रचण्ड अनुपस्थित रहेका थिए।
भेटवार्तामा संक्रमणकालीन न्याय र समसामयिक राजनीतिक विषयहरूमा केन्द्रित छलफल भएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ। यसअन्तर्गत शान्ति प्रक्रियाका बाँकी मुद्दाहरू समेत छलफलको विषय बनेको छ। भेटमा प्रधानमन्त्री ओलीका कानुनी सल्लाहकार अग्नि खरेल र माओवादी केन्द्रका महासचिव वर्षमान पुन पनि उपस्थित थिए।
गत बिहीबार प्रधानमन्त्री ओलीले आयोजना गरेको तीन दलीय बैठकमा प्रचण्ड सहभागी नभएपछि त्यसबेला ओली र नेपाली कांग्रेस अध्यक्ष शेरबहादुर देउवाबीच छलफल भएको थियो। यसपटक प्रचण्डसँगको छलफलले दलहरूबीच शान्ति प्रक्रिया र संविधान कार्यान्वयनका मुद्दाहरूमा नयाँ गति आउने अपेक्षा गरिएको छ।