काठमाडौं – सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई विशेष अदालतले दुई वर्ष कैद र १३ करोड ५८ लाख ५२ हजार ५८० रुपैयाँ जरिवानाको सजाय सुनाएको छ । पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतको संयुक्त इजलासले पौडेललाई दोषी ठहर गरेको हो ।
न्यायाधीश त्रय टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले भ्रष्टाचार कसुरमा १ वर्ष ६ महिना र कार्यकारी पदको दुरुपयोगको कसुरमा थप ६ महिना कैद सजाय तोकेको हो ।
अदालतको फैसलामा भनिएको छ- प्रिन्टिङ मेसिन खरिदका लागि विनियोजित ७६ करोड रुपैयाँमध्ये गुरुयोजना र स्वीकृत कार्यक्रम विपरीत पेपर बेस्ड र कार्ड बेस्ड मेसिन खरिद गरी ४० करोड ७५ लाख रुपैयाँ बराबरको हानी-नोक्सानी पुर्याइएको छ ।
यसै मुद्दामा म्याक्स इन्टरनेसनल प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अकबर हुसेनलाई पनि १३ करोड ५८ लाख रुपैयाँ जरिवाना र १ वर्ष ६ महिना कैदको सजाय सुनाइएको छ ।
यद्यपि, अन्य सहआरोपितहरू सफल श्रेष्ठ, नवीन कुमार पोखरेल, हरिवल्लभ घिमिरे र खड्क बहादुर थापा भने कार्यकारी निर्देशक पौडेलको निर्देशनमा मात्र खरिद प्रक्रियामा सहभागी भएका भनी उनीहरूलाई सफाइ दिइएको छ ।
पौडेल यसअघि नै विशेष अदालतको अर्को फैसलाअनुसार कैद सजाय भुक्तान गरिरहेका छन् । गत वर्ष जेठ ८ गते विशेष अदालतले उनलाई २५ करोड ४७ लाख रुपैयाँ बिगो असुल, सो बराबरको जरिवाना र दुई वर्ष कैदको सजाय सुनाएको थियो । त्यसको भोलिपल्टै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध दोस्रो मुद्दा दायर गरेको थियो ।