काठमाडौं – धादिङको गजुरी गाउँपालिका-२ का ६० वर्षीय चुडामणि कँडेल, जसले श्रीमतीको हत्या गर्न चार लाख रुपैयाँ सुपारी दिएका थिए, आफैं मारिएको घटनाको खुलासा भएको छ । चैत २७ गते घरको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेका कँडेलको हत्या भएको पुष्टि अनुसन्धानबाट भएको हो ।
प्रहरीले कँडेलले मकवानपुरका अक्कल बहादुर प्रजा मार्फत श्रीमती सुस्मिता सिलवालको हत्या गर्न सुपारी दिएको तर योजना सफल नभएपछि पैसा फिर्ता माग्दा अभियुक्तहरूले उल्टै कँडेलको हत्या गरेको जनाएको छ । प्रजासहित पृथलाल थिङ र सञ्चलाल तामाङले कोदालोको बीँडले हानी कँडेलको हत्या गरेका थिए । पछि शवलाई झुण्ड्याएर आत्महत्या देखाउने प्रयास गरिएको थियो ।
घटनापछि अभियुक्तहरू पृथ्वी राजमार्ग हुँदै फरार भएका थिए । अनुसन्धानका क्रममा अभियुक्तको कोठाबाट एक लाख रुपैयाँ र तीनैजनाले किनेको एउटै प्रकारको जुत्ता पनि बरामद गरिएको छ ।