टोकियो – होक्काइडोको कुच्चन सहरमा एक विदेशी युवकमाथि छुरा प्रहार भएको छ । शनिबार राति करिब ९ बजे उक्त घटना भएको हो ।
जापानी सार्वजनिक प्रसारक एनएचकेका अनुसार, एक पैदल यात्रुले आपतकालीन नम्बर ११९ मा फोन गरी ‘कसैको ढाडबाट रगत बगिरहेको छ’ भनेर जानकारी गराएका थिए । घटनास्थलमा उद्धार टोली पुगेर घाइतेलाई तत्काल अस्पताल पुर्याएको थियो ।
प्रहरीका अनुसार, करिब २० वर्ष उमेरका विदेशी पुरुषमाथि भएको आक्रमण ज्यानमार्ने प्रयास भने होइन । चिकित्सकीय रिपोर्टअनुसार, उनको अवस्था स्थिर रहेको र निको भएसँगै प्रहरीले सोधपुछ अघि बढाउने बताइएको छ ।
प्रारम्भिक अनुसन्धानमा युवक संभवत: झगडामा संलग्न भएको आशंका गरिएको छ । तथापि, घटनाको पूर्ण विवरण आउन बाँकी रहेको र अपराधीको पहिचान तथा धरपकडका लागि अनुसन्धान तीव्र पारिएको प्रहरीले जनाएको छ ।
निसेको क्षेत्र जापानभित्र अत्यन्त लोकप्रिय विदेशी पर्यटक गन्तव्य मानिन्छ । यहाँको हिउँदकालीन खेलकुद, स्की रिसोर्ट र प्राकृतिक सौन्दर्यले लाखौँ पर्यटकलाई आकर्षित गर्छ । यस किसिमको घटना हुँदा स्थानीय सुरक्षा व्यवस्थामा प्रश्न उठ्न थालेको देखिन्छ ।