काठमाडौं – अस्ट्रेलियामा सम्पन्न आम निर्वाचनमा प्रधानमन्त्री एन्थोनी अल्बनीज दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका छन् । लामो समयदेखि जनमत सर्वेक्षणहरूमा पछाडि परिरहेको देखिएको उनको लेबर पार्टीले अन्ततः चमत्कारपूर्ण पुनरागमन गर्दै सरकार पुनः दोहोर्याउन सफल भएको हो ।
देशभरि बढ्दो महँगी र जीवनयापन खर्चमा वृद्धि भएको बेला मतदाताहरूको निराशा झेल्दै अल्बनीजले विजयी नतिजा निकाल्न सकेका हुन् । अस्ट्रेलियन ब्रडकास्टिङ कर्पोरेसन (एबीसी) ले शनिबार अन्तिम मतदान केन्द्रहरू बन्द भएको केही बेरमै अल्बनीजको विजय सुनिश्चित भएको घोषणा गरेको थियो ।
यो परिणाम विपक्षी नेता पिटर डटन नेतृत्वको कंजरभेटिभ गठबन्धनका लागि स्पष्ट पराजय सावित भएको छ । डटनले वर्तमान सरकारप्रति बढ्दो असन्तुष्टिलाई आफ्नो पक्षमा पार्न खोजे पनि, चुनावी अभियानमा भएका पटक-पटकका गल्तीहरू, पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिहरूसँग मिल्दोजुल्दो छविले उनलाई कमजोर बनाएको विश्लेषकहरू बताउँछन् ।
एबीसीको प्रक्षेपणअनुसार, डटनले सन् २००१ देखि जित्दै आएको क्विन्सल्याण्डस्थित आफ्नो सुरक्षित सिटसमेत गुमाउने सम्भावना देखिएको छ । यस जितसँगै प्रधानमन्त्री अल्बनीजको नेतृत्वमा लेबर पार्टीले आगामी चार वर्षका लागि फेरि शासन गर्ने म्यान्डेट पाएको छ ।