टोकियो – टोकियो नजिकै कावासाकीस्थित एक घरभित्र कंकाल अवस्थामा शव फेला परेको घटनापछि एक युवक प्रहरीको निगरानीमा परेका छन् । प्रहरीले शनिबार ती २० वर्षको हाराहारीमा रहेका युवकलाई स्वेच्छिक बयानका लागि बोलाएको हो ।
उक्त शव गत डिसेम्बरदेखि बेपत्ता रहेकी २० वर्षीया असाही ओकाजाकीको भएको प्रहरीले पुष्टि गरेको छ । ओकाजाकी ती युवककी पूर्वप्रेमिका हुन् । प्रहरीका अनुसार युवकलाई ओकाजाकीलाई पटक-पटक पछ्याएको अभियोगमा अघिल्ला महिनाहरूमा चेतावनी दिइएको थियो । उनी शनिबार दिउँसो विदेशबाट जापान फर्किएलगत्तै प्रहरीको सम्पर्कमा आएका हुन् ।
बुधबार प्रहरीले युवकको कावासाकीस्थित घरमा खोजी गर्दा भुइँको फर्समुनि प्लास्टिकको झोलामा मानव अवशेष भेटिएको थियो । प्रारम्भिक परीक्षणमा ती अवशेष ओकाजाकीकै भएको पुष्टि भएको छ । शवमा जलाइएको संकेत भेटिएको र मृत्यु भएको एक महिनाभन्दा बढी भइसकेको प्रारम्भिक पोस्टमार्टम रिपोर्टले देखाएको अनुसन्धानमा संलग्न स्रोतहरू बताउँछन् ।
ओकाजाकी र युवकबीच गत वर्षको वसन्तयता प्रेमसम्बन्ध थियो, यद्यपि उनीहरूको सम्बन्ध कहिले टुट्ने, कहिले पुनः जोडिने अवस्थामा रहँदै आएको बताइएको छ । ओकाजाकीको परिवारका अनुसार उनले काम गर्ने स्थान र बसोबास गर्ने ठाउँमा समेत ती युवकले पछ्याउने गरेको गुनासो प्रहरी समक्ष गरिएको थियो ।
विगत वर्ष डिसेम्बर २० तिर ओकाजाकी आफ्नी हजुरआमाको घरमा बसिरहेको बेला अचानक सम्पर्कविहीन बनेकी थिइन् । हराएको समयमा पनि प्रहरीले युवकसँग सोधपुछ गरेको थियो, तर उनले संलग्नता अस्वीकार गरेका थिए । प्रहरीले अहिले घटनाको विस्तृत अनुसन्धानलाई तीव्रता दिएको छ । युवकलाई अहिलेसम्म औपचारिक रूपमा पक्राउ गरिएको छैन ।