टोकियो – जापानी चलचित्र र टेलिभिजनकी चर्चित अभिनेत्री रयोको हिरोसुए मानसिक तथा शारीरिक स्वास्थ्य समस्याका कारण अभिनयजगतबाट अनिश्चितकालका लागि विश्राममा जाने भएकी छिन् । उनलाई बाइपोलार डिसअर्डर (द्विध्रुवीय मानसिक रोग) र हाइपरथाइरॉइडिज्म (अत्यधिक थाइरॉइड हर्मोन उत्पादन) भएको पुष्टि भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको हो ।
हिरोसुएको प्रबन्धक संस्थाले शुक्रबार आफ्ना आधिकारिक वेबसाइटमार्फत सार्वजनिक जानकारी दिँदै भन्यो, ‘हामीले विगतमा स्वास्थ्य ठीक नभएको भनेर उनको पीडा र मानसिक अवस्था तुच्छ रुपमा लिएका थियौं, जुन गम्भीर गल्ती थियो । हाललाई हिरोसुए सम्पूर्ण कलाकर्मी गतिविधिबाट विश्राम लिँदै पूर्ण मानसिक र शारीरिक पुनःस्थापनामा केन्द्रित हुनेछिन् ।’
४५ वर्षीया हिरोसुएलाई अप्रिल ७ मा भएको सडक दुर्घटनापछि एक अस्पतालमा उपचारको क्रममा कार्यरत महिला नर्समाथि कुटपिट गरेको आरोपमा पक्राउ गरिएको थियो । प्रहरीले अप्रिल १६ मा रिहा गरेपछि उनी हाल टोकियोस्थित एक स्वास्थ्य संस्थामा उपचाररत छिन् ।
प्रारम्भिक जानकारीअनुसार, शिन-टोमेई एक्सप्रेसवेमा हिरोसुएले चलाएको गाडीले एक ट्रकलाई पछाडिबाट ठक्कर दिएको थियो । गाडीमा सवार एक पुरुष यात्रु गम्भीर घाइते भएका थिए भने ट्रक चालक भने सकुशल थिए । हिरोसुए पनि सामान्य चोटपटकसहित सिजुओका प्रान्तको शिमाडा अस्पतालमा भर्ना भएकी थिइन् ।
उक्त अस्पतालमा, उपचारका क्रममा नर्सले हिरोसुएलाई अस्पतालको सीमित क्षेत्रमा मात्र रहन अनुरोध गर्दा उनले नर्सलाई कयौँ पटक लात हानेको र नङले घोचेको बताइएको छ । यस सम्बन्धमा हिरोसुएले घटनालगत्तै ‘दुर्घटनापछि म मानसिक रूपमा अत्यधिक आत्तिएकी थिएँ,’ भन्ने स्पष्टीकरणसहित सार्वजनिक माफीसमेत मागेकी थिइन् ।
प्रहरीद्वारा गरिएको परीक्षणमा हिरोसुएको शरीरमा न त मदिरा न त कुनै लागूपदार्थको असर भेटिएको थियो। यसबीच, पीडित नर्ससँग हिरोसुएले आपसी सहमति र मिलापत्र गरेकी छिन् । हिरोसुएले सन् १९९० को दशकमा ‘बिच ब्वाइज’ जस्ता टेलिभिजन नाटकहरू र ओस्कार पुरस्कार विजेता जापानी चलचित्र Departures मा उत्कृष्ट अभिनय गर्दै लोकप्रियता कमाएकी थिइन् । उनको अभिनय यात्राले जापानी मनोरञ्जन जगतमा गहिरो छाप छोडेको छ ।