टोकियो – जापानको चर्चित ‘गोल्डेन विक’ बिदाको दोस्रो चरण सुरु हुने पहिलो दिन शनिबार देशभरका यातायातका सबै माध्यमहरूमा यात्रुको अत्यधिक भीड देखिएको छ । बुलेट ट्रेन, आन्तरिक उडानहरू र राजमार्गहरूमा चाप बढेसँगै यात्रुहरू लामो पर्खाइ र ट्राफिक जामको सामना गर्न बाध्य भएका छन् ।
शिन्कान्सेन बुलेट ट्रेनमा आरक्षित सिटहरू बिहानै खचाखच भरिएका थिए । टोकियोबाट प्रस्थान गर्ने तोकाइदो शिन्कान्सेन लाइनका नोजोमि बुलेट ट्रेनहरूका अधिकांश सिटहरू बिहानै बुक भइसकेका थिए । अन्य रूटका शिन्कान्सेनहरूमा पनि बिहानदेखि दिउँसोसम्मका यात्रा लगभग भरिएको बताइएको छ ।
अल निप्पोन एयरवेज (ANA) र जापान एयरलाइन्स (JAL) का अनुसार, टोकियोको हानेडा विमानस्थलबाट प्रस्थान गर्ने अधिकांश आन्तरिक उडानहरूमा सिटहरू लगभग भरिएका छन् । केही मात्र सिटहरू मात्रै बाँकी रहेकाले यात्रुहरूले बुकिङमा कठिनाइ भोग्नु परेको छ ।
राजमार्ग सञ्चालक संस्थाहरूका अनुसार, शनिबार टोकियोलगायत ठूला शहरहरूबाट बाहिरिने सवारी चाप उच्च रहनेछ भने फर्कने यात्रुको भीड सोमबार चरममा पुग्ने अनुमान गरिएको छ । गोल्डेन विकको चार दिने दोस्रो चरणका कारण लाखौं नागरिकहरू आफ्नो परिवार, साथीभाइ वा पर्यटन गन्तव्यहरूतर्फ लागिरहेका छन् ।
गोल्डेन विक के हो ?
गोल्डेन विक जापानको सबैभन्दा लामो सार्वजनिक बिदा हो, जहाँ अप्रिल अन्तिम साता र मेको सुरुवातमा चारदेखि सात दिनसम्म सार्वजनिक बिदाहरू एकैचोटि आउँछन् ।
यस अवधिमा लाखौं जापानीहरू देश भित्र वा बाहिर यात्रा गर्ने गर्छन् । यस वर्षको दोस्रो चरणमा शनिबारदेखि मंगलबारसम्म चार दिन बिदा परेको छ, जसका कारण यातायात पूर्वाधारहरूमा अत्यधिक दबाब परेको देखिन्छ ।