टोकियो – राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिकी प्रशासनले शनिबारदेखि इञ्जिन, ट्रान्समिसन र विद्युतीय उपकरणहरूजस्ता प्रमुख अटो पार्ट्समा २५ प्रतिशत भन्सार शुल्क लागू गरेको छ । विश्वका सबै देशहरूमाथि एकैपटक लागू गरिएको यो नयाँ नीतिले जापानको अटोमोबाइल उद्योगलाई विशेषरूपमा आघात पुर्याउने अनुमान गरिएको छ ।
पहिले नै अमेरिका निर्यात गरिने जापानी गाडीहरूमा यति नै दरको भन्सार लागू भइसकेको अवस्थामा अटो पार्ट्समा थपिएको शुल्कले जापानको प्रमुख निर्यात क्षेत्रलाई दोहोरो दबाब सिर्जना गरेको हो । ट्रम्प प्रशासनले यस निर्णयलाई ‘अमेरिकाको घरेलु अटो उद्योगको सुरक्षाका लागि अनिवार्य’ भन्दै औपचारिक रूपमा सार्वजनिक गरेको हो । राष्ट्रपतिले आफ्ना कारणहरू स्पष्ट पार्दै भनेका छन्, ‘अत्यधिक आयातका कारण हाम्रो अटो उद्योग कमजोर भएको छ, जसले राष्ट्रिय आपूर्ति शृंखलामा समेत असर पारिरहेको छ ।’
तर अटो उद्योगका विज्ञहरू र निर्माताहरूले ट्रम्पको तर्कमाथि प्रश्न उठाउँदै प्रतिक्रिया जनाएका छन् । उनीहरूका अनुसार, गाडी उत्पादनको जटिल आपूर्ति शृंखलाले गर्दा छोटो अवधिमा आवश्यक सबै पार्ट्स घरेलु रूपमा प्राप्त गर्नु अवास्तविक छ ।
अमेरिकी बजार जापानका लागि सबैभन्दा ठूलो अटो निर्यात गन्तव्य हो । सन् २०२४ मा मात्र जापानले अमेरिका पठाएका गाडीको मूल्य करिब ६ ट्रिलियन येन (४१ अर्ब डलर) रहेको थियो । अटो पार्ट्ससहित यी वस्तुहरूले जापानको कुल अमेरिकी निर्यातको झण्डै एक तिहाइ हिस्सा ओगटेका छन् । यस्तो अवस्थामा ट्रम्प प्रशासनको पछिल्लो निर्णय जापानको निर्यातमा गम्भीर असर पार्ने निश्चित देखिन्छ ।
जापान सरकार र उद्योग निकायहरूले यस विषयमा चिन्ता व्यक्त गरेका छन् र आवश्यक कूटनीतिक पहल अघि बढाउने संकेत दिएका छन् । यद्यपि, अमेरिकी सरकारले भन्सारको असर कम गर्न दुई वर्षका लागि विशेष राहत योजना पनि अघि सारेको छ । यो योजनाअनुसार, अमेरिकामा निर्माण गरिएका सवारीसाधनहरूमा पहिलो वर्ष खुद्रा मूल्यको १५ प्रतिशतसम्म र दोस्रो वर्ष १० प्रतिशतसम्म भन्सार शुल्कको परिमार्जन गर्न पाइनेछ ।