समाचार सुन्नुहोस :
काठमाडौँ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई राजनीति नगर्न आग्रह गरेकी छन्। शनिबार काठमाडौंमा आयोजित एनआरएनएको एकता महाधिवेशनमा सम्बोधन गर्दै उनले एनआरएनए राजनीतिक बहसको मंच नभई देश विकासमा योगदान दिने संस्था भएको उल्लेख गरिन्।
मन्त्री राणाले गैरआवासीय नेपालीहरूले विदेशमा कडा मेहनत गरेर आफ्नो परिवार, समाज र समुदायलाई अगाडि बढाएको भन्दै त्यही ऊर्जा र अनुभवले नेपालको समृद्धिमा पनि टेवा पुग्ने बताइन्। “यहाँ आएर राजनीति नगरिदिनुहोस्, बरु देश समृद्ध बनाउने अभियानमा हातेमालो गरौं,” भन्दै उनले एनआरएनए सदस्यहरूलाई अपील गरिन्।
उनले एनआरएनएलाई देशको आर्थिक विकासमा टेवा पुर्याउने सामर्थ्य बोकेको संस्था भन्दै प्रशंसा गरिन्। साथै, विदेशी भूमिमा श्रम गरेर जेनेरेसनभरि परिवर्तन ल्याएका नेपालीहरू नेपालको परिवर्तनका लागि पनि प्रेरणाको स्रोत बन्ने उल्लेख गरिन्। यसै प्रसङ्गमा मन्त्री राणाले एनआरएनएका सदस्यहरूलाई देशसँग आत्मिक सम्बन्ध नतोड्न आग्रह गरेकी छन्।