काठमाडौं – भारत र पाकिस्तानबीचको दशकौँ पुरानो सिन्धु जल सन्धि फेरि विवादको केन्द्र बनेको छ । हालै भारतले जम्मु-कश्मीरको पहलगाममा भएको आतंकी हमलापछि पाकिस्तानमाथि गम्भीर आरोप लगाउँदै सन्धि निलम्बन गर्ने संकेत दिएपछि, पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले कडा प्रतिक्रिया दिएका छन् ।
पाकिस्तानी टेलिभिजन कार्यक्रम ‘नयाँ पाकिस्तान’ मा बोल्दै रक्षामन्त्री आसिफले भारतले सिन्धु नदीमा कुनै पनि संरचना निर्माण गर्ने प्रयास गरे सो ‘आक्रामकता’ को संज्ञा दिँदै त्यसविरुद्ध ‘आक्रमण’ गर्ने चेतावनी दिएका हुन् । उनका अनुसार, यदि भारतले सम्झौताविपरीत कुनै पनि संरचना बनाउन खोज्यो भने हामी त्यसप्रति कडा प्रतिक्रिया जनाउनेछौं ।
भारत प्रशासित पहलगाममा २२ अप्रिल २०२५ मा भएको आतंकवादी आक्रमणमा २६ जना पर्यटकको ज्यान गएको घटनापछि दुई देशबीचको तनाव चरममा पुगेको छ । भारतले उक्त हमलाको पछाडि पाकिस्तानको संलग्नता रहेको आरोप लगाउँदै सन्धि निलम्बनसहित विभिन्न दण्डात्मक कदम चालेको थियो ।
यसैबीच भारतीय पक्षले सिन्धु नदीको पानी पाकिस्तान जान नदिने तयारी गरिरहेको चर्चा चलिरहेका बेला पाकिस्तानबाट आएको यस्तो प्रतिक्रिया क्षेत्रीय तनावलाई अझ चर्काउने अनुमान गरिएको छ । रक्षामन्त्री आसिफले पानी रोक्ने वा मोड्ने कार्यलाई पनि युद्धको एक रुप भन्दै भने, ‘युद्ध सधैं तोप र गोलीमारको रूपमै आउँदैन, कहिलेकाहीँ पानी रोकिनु पनि आक्रामकता हुन सक्छ, जसले लाखौं मानिसलाई भोक र तिर्खाले मार्न सक्छ ।’
सन् १९६० मा भारत र पाकिस्तानबीच विश्व बैंकको मध्यस्थतामा भएको सिन्धु जल सन्धिले सिन्धु नदी प्रणालीका पानी बाँडफाँड गर्ने सहमति गरेको थियो । हाल भारतद्वारा सन्धिको उल्लंघन हुने संकेतले यो सन्धि खतरामा परेको विश्लेषकहरू बताउँछन् ।