काठमाडौं – पूर्वअर्थमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई गन्तव्यविहीन भन्दै कडा आलोचना गरेका छन् ।
शुक्रबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा पुनले असन्तुष्टि जनाउँदै सरकार योजना विहीन ढङ्गले अघि बढिरहेको टिप्पणी गरे । उनका अनुसार विगतमा नीति सँगसँगै स्पष्ट कार्यक्रमहरू पनि प्रस्तुत गरिने परम्परा थियो, जुन यस पटक समाप्त गरिएको छ । उनले भने, ‘नीति तथा कार्यक्रम गन्तव्यविहीन जस्तो लाग्यो । अर्कोतिर निरस खालको छ । किनभने विगतमा कृषि, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा स्पष्ट कार्यक्रम आउँथे, जुन संसद्ले पारित गर्थ्यो र बजेटमा त्यसैअनुसार अङ्क विनियोजन हुन्थ्यो ।’
सांसद पुनले सरकारको नीति त आएको तर कार्यक्रम प्रस्तुत नगरेको आरोप लगाए । उनले यो अवस्थालाई संसद्लाई छल्ने प्रयास भन्दै आपत्ति जनाए । ‘यस पटक कार्यक्रम छैन । यसरी संसद्लाई छल्ने प्रयास भएको आशंका छ । फरक दलबाट राष्ट्रपति भएकाले न्युनिङ नमिल्ने डरले कार्यक्रम नै नराखिएको हो कि भन्ने आशंका उत्पन्न हुन्छ,’ पुनले तर्क गरे ।
पुनका अनुसार नीति तथा कार्यक्रममा आर्थिक क्षेत्र सुधारको खाका स्पष्ट गरिएको छैन । शिक्षक आन्दोलन भर्खरै शान्त भइसकेको अवस्थामा शिक्षा क्षेत्रमा आवश्यक सुधारका विषयमा केही नआएकोप्रति उनले गम्भीर ध्यानाकर्षण गराए । ‘शिक्षा, पूर्वाधार र विकास निर्माणतर्फ गन्तव्य देखिएन । विगतका सरकारले गरेका प्रतिबद्धताहरूको निरन्तरता र समीक्षा पनि स्पष्ट छैन,’ उनले थपे ।