काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उद्यमशीलतामार्फत रोजगारी सृजना र आयआर्जनका अवसर विस्तारलाई प्राथमिकतामा राखेको छ ।
संघीय संसद्मा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै युवापुस्तालाई केन्द्रमा राखेर आन्तरिक रोजगारी सिर्जना गरिने स्पष्ट पारे । ‘सबै उद्यममा व्यवसायिक योजना र त्यसको इकोसिस्टमलाई समेटी, विशेषतः जेन–जी पुस्तालाई लक्षित गरी स्टार्टअप कार्यक्रम लागू गरिनेछ,’ राष्ट्रपति पौडेलले बताएका छन् ।
सरकारको यो योजनाले नवप्रवर्तनशील सोच भएका युवालाई उद्यमशीलताको यात्रामा अघि बढ्न प्रोत्साहन गर्ने विश्वास लिइएको छ । व्यवसायिक सोच, प्रविधिको उपयोग र स्थानीय स्रोतको समन्वयबाट आर्थिक विकासलाई तीव्रता दिने अपेक्षा नीति दस्तावेजमा गरिएको छ ।