समाचार सुन्नुहोस :
काठमाडौँ – भारत र पाकिस्तानबीच पछिल्लो समय बढ्दै गएको तनावका कारण भारतले पाकिस्तानी विमानहरूका लागि आफ्नो हवाई क्षेत्र बन्द गर्ने निर्णय गरेको छ। भारतीय विमानस्थल प्राधिकरण (AAI) ले बुधबार साँझ ‘नोटिस टु एयरमेन’ (NOTAM) जारी गर्दै मे १ देखि मे २३ सम्म यो प्रतिबन्ध लागू हुने जनाएको छ। प्रतिबन्ध पाकिस्तानमा दर्ता भएका एयरलाइन्स तथा अपरेटरहरूद्वारा सञ्चालन, स्वामित्व वा भाडामा लिइएका सबै विमानहरूमा लागू हुनेछ। यसमा सैन्य विमानहरू पनि समावेश हुने जनाइएको छ।
हाल भारत र पाकिस्तानबीच कुनै सिधा हवाई सेवा छैन। तर, पाकिस्तानी विमानहरूले सिंगापुर, मलेसिया लगायत पूर्वी एसियाका देशहरूमा जाने क्रममा भारतीय आकाश मार्ग प्रयोग गर्ने गर्दथे। जसमा अब अवरोध सिर्जना हुनेछ।
यो निर्णय अप्रिल २२ मा भारतको पहलगाममा भएको आक्रमण र त्यसपछि पाकिस्तानसँग उत्पन्न तनावको सन्दर्भमा आएको हो। आक्रमणपछि भारतले सिन्धु जल सन्धि निलम्बन, अटारी नाका बन्द तथा कूटनीतिक सम्बन्ध कटौतीजस्ता कडा कदम चालेको थियो। यसको प्रतिशोधस्वरूप पाकिस्तानले पनि भारतीय विमानहरूलाई आफ्नो हवाई क्षेत्र प्रयोग गर्न रोक लगाएको थियो र तेस्रो देशमार्फत हुने व्यापार बन्द गरेको थियो।