काठमाडौं – सरकारसँग नौ बुँदे सहमति पश्चात नेपाल शिक्षक महासंघले चैत २० देखि जारी शैक्षिक हड्ताल स्थगित गरेको घोषणा गरेको छ ।
महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले सोमबार जारी गरिएको वक्तव्यमार्फत आन्दोलन स्थगित गरिएको जानकारी दिएका हुन् । ‘आम शैक्षिक हड्ताल स्थगित भएको छ,’ सुवेदीले भने, ‘अब नियमित कक्षा सञ्चालनमा ध्यान दिन अनुरोध गर्दछौं ।’
सरकार र महासंघबीच भएको सहमतिपछि आन्दोलन फिर्ता लिइएको भए पनि ऐन जारी नभए थप कडा आन्दोलनको चेतावनी महासंघले दिएको छ । सुवेदीले शिक्षक तथा शिक्षासम्बन्धी कर्मचारीहरूलाई परीक्षा सञ्चालन र भर्ना अभियानमा सक्रिय सहभागिता जनाउन समेत आग्रह गरेका छन् ।
महासंघले शैक्षिक ऐन संशोधनलगायतका मागहरू अघि सार्दै राजधानी केन्द्रित चरणबद्ध आन्दोलन थालेको थियो । सहमति अनुसार आगामी दिनमा शिक्षक सरोकारका मुद्दा समाधानतर्फ सरकार प्रतिबद्ध रहने अपेक्षा गरिएको छ ।