काठमाडौं – नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीको गिरफ्तारीसँग जोडिएर सर्वोच्च अदालतभित्रै नयाँ रहस्य खुल्दै गएका छन् । सर्वोच्चको मुद्दा तथा रिट महाशाखाका शाखा अधिकृत महिमानसिंह विष्टलाई प्रहरी नियन्त्रणमा लिइएको छ । काठमाडौं प्रहरी परिसरको टोलीले बुधबार साँझ विष्टलाई सर्वोच्च परिसरमैबाट पक्राउ गरेको हो ।
उनलाई हाल हिरासतमा राखिएको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार विष्टले बयानमा टीकापुर घटनामा ज्यान गुमाएका व्यक्तिहरूको आत्माले आफूलाई पोलिरहेको भन्दै त्यसै कारण चौधरीको गिरफ्तारीका लागि पत्र निकालेको बताएका छन् । विष्टको दस्तखतसहित सर्वोच्चको मुद्दा शाखाबाट बुधबार बिहान नेपाल प्रहरी र डिल्लीबजार कारागारलाई पत्र पठाइएको थियो । सो पत्रको आधारमा प्रहरीले दिउँसो प्रज्ञा भवनबाट चौधरीलाई नियन्त्रणमा लिएको थियो ।
तर सो पत्र कुनै इजलास वा न्यायाधीशको आदेश बिना जारी भएको पुष्टि भएपछि सर्वोच्चमै विवाद चुलिएको हो । कानुनी प्रावधान अनुसार प्रशासनिक शाखाले स्वतन्त्र रूपमा थुनासम्बन्धी आदेश जारी गर्न पाउँदैन । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा २०८० जेठ १५ मा दिइएको आममाफीको निर्णयलाई खारेज गरेजस्तो देखिने उक्त पत्रसँगै विवाद थपिएको हो । विष्टले आममाफीविरुद्ध ‘न्यायको पक्षमा’ भन्दै पत्र लेखेको दाबी गरे पनि कानुनी प्रक्रिया र पदको सीमा उल्लंघन भएको भन्दै उनलाई नियन्त्रणमा लिइएको प्रहरी अधिकारीहरूले जनाएका छन् ।
यो पनि : रेशम चौधरीलाई छुटाउन सर्वोच्चले प्रहरीलाई पठायो पत्र
चौधरी सीके राउत नेतृत्वको जनमत पार्टीसँगको एकता कार्यक्रमका लागि प्रज्ञा भवन पुगेकै बेला पक्राउ परेका थिए । चौधरी पक्राउपछि राजनीतिक हलचल चुलिएको थियो भने कार्यक्रम तत्कालका लागि स्थगित गरिएको छ । विष्टको गिरफ्तारीपछि सर्वोच्च अदालतभित्रै निर्णय प्रक्रिया, पत्राचार प्रणाली र जिम्मेवारी सम्बन्धमा गम्भीर प्रश्न उठेको छ ।