काठमाडौं – नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक र पूर्वसांसद रेशम चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चौधरी सीके राउत नेतृत्वको जनमत पार्टीसँग पार्टी एकता घोषणा गर्न कमलादीस्थित प्रज्ञा भवन पुगेका बेला सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार चौधरीलाई सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न पक्राउ गरिएको हो । ‘हामीले सर्वोच्चको फैसला कार्यान्वयन गर्न उहाँलाई पक्राउ गरेका हौं,’ बोहोराले भने, ‘पक्राउपछि उहाँलाई डिल्लीबजार कारागार लगिएको छ ।’
२०७२ भदौमा टीकापुरमा भएको हिंसात्मक घटनामा संलग्न ठहर गर्दै कैलाली जिल्ला अदालतले चौधरीलाई जन्मकैदको सजाय सुनाएको थियो । तर, २०८० जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सरकारले आममाफी दिँदै उनलाई जेलमुक्त गरेको थियो ।
तर पछिल्लो समय सर्वोच्च अदालतले आममाफीको प्रक्रिया गैरकानुनी ठहर गर्दै रेशम चौधरीसहित अन्य केही कैदीहरूको माफी बदर गर्न आदेश दिएको थियो । सोही निर्णयको आधारमा चौधरी पुनः पक्राउ परेका हुन् ।
चौधरीको आममाफीबारे सर्वोच्च अदालतको आदेश रिगल भनिने योगप्रसाद ढकालको मुद्दासँग सम्बन्धित थियो । सो आदेशमा राष्ट्रपति पौडेलले ढकाललाई दिएको कैद मिनाहा तत्काल बदर गर्न र पुनः पक्राउ गरी जेल चलान गर्न पूर्ण इजलासले परमादेश जारी गरेको थियो । यही निर्णयका प्रभावमा चौधरीको आममाफी पनि अमान्य ठहर भई पुनः कारागार चलान गरिएको हो भन्ने बुझिएको छ ।
यसबीच, जनमत र नाउपाबीच तय भएको एकता कार्यक्रम स्थगित गरिएको छ । चौधरीको गिरफ्तारीपछि प्रज्ञा प्रतिष्ठान परिसरमा उनका समर्थकहरूले सरकारविरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका थिए ।