टोकियो – करिव ३ दशकदेखि जापानलाई कर्मथलो बनाउँदै आउनुभएका गुल्मी चन्द्रकोट- ७ रुपाकोटका शालिकराम भण्डारी र पवित्रा भण्डारीले मंगलबार टोकियोमा एकैदिन दुईछोरीको कन्यादान दिएर दुर्लभ विवाह सम्पन्न गराउनुभएको छ ।
जापानमै जन्मेका सुस्मिता र कल्पनाको एकैदिन कन्यादान दिएर भण्डारी परिवारले परदेशमा भएर पनि आफ्नै सँस्कारअनुसार नौमती बाजा बजाएर, गोडा धोएर, जल खाएर कन्यादान दिनुभएको हो ।
विरलै बाबुआमालाई जुर्ने यसप्रकारका एउटै यज्ञबाट एकैदिन दुईछोरीको विवाह अम्काउने भण्डारी परिवार संभवत जापानमा पहिलो हुनुहुन्छ ।
जेठी छोरी सुस्मिताको चितवनका तिलकराज कँडेलसंग र कान्छी छोरी कल्पनाको जापानमै रहेका गुल्मीकै अर्जुन खरेलसंग भण्डारी दम्पतीले विवाह गराउनुभएको हो ।
वैवाहिक समारोहमा जापानका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित ब्यक्तित्वहरुको उत्साहजनक उपस्थिति थियो भने गुल्मी मुसिकोट बाजा समुहको नौमती बाजाको रौनकले नेपालमै हुने विवाहको झल्को दिलाएको थियो ।
जापानमै जन्मेर जापानकै संस्कारमा हुर्केर जापानकै विद्यालय र विश्वविद्यालयमा शिक्षा हासिल गरी जागिरे जीवन अंगालिसकेका भण्डारी सुपुत्रीद्वयको नेपालकै सामाजिक सँस्कारअनुसार विवाह सम्पन्न गरिएको हो । यस विवाहले प्रवासमा हुर्कदो नयाँ पुस्तामा नेपाली सँस्कार र सँस्कृति हस्तान्तरण भएको सन्देश दिएको छ भने अर्कोतिर जापानको नेपाली कम्युनिटी ठूलो मात्रै हुँदै गएको छैन अपग्रेड पनि हुँदै गएको छ भने आभास दिलाएको छ ।
जापानमा ठूलो सँख्यामा नेपाली नयाँ पुस्ता हुर्कदों छ । उनीहरुलाई नेपालसंग निरन्तर जोडिरहन यसप्रकारका सामाजिक सँस्कार, नेपाली चाड पर्व र रितिरिवाजका साथै नेपाली भाषा, साहित्य र गीतसंगीतसंग सम्बन्धित गतिविधि तथा कार्यक्रमहरु गरिनुपर्ने र त्यस्ता कार्यक्रमहरुमा तन्नेरी पुस्ताका नेपालीहरुलाई पनि सहभागी बनाउन बाबुआमाको भूमिका अपेक्षित छ ।
‘जापानको ब्यस्ततालाई चिर्दै छोरीहरुलाई आशिरबाद दिन आईदिनुभएकोमा समस्त पाहुना महानुभावहरुप्रति हामी ऋणी छौं, उहाँहरुप्रति नतमस्तकपूर्वक हार्दिक कृतज्ञता प्रकट गर्दछौं’ – भण्डारीले भन्नुभयो – ‘मैले जापानका बिताएका तीन दशकभन्दा लामो यात्रामा कमाएका साथीभाइ र इष्टमित्रहरुको आत्मीयता छोरीहरुको वैवाहिक समारोहमा अपेक्षा गरेभन्दा सयौंगुणा पाएँ, उहाँहरु सबैलाई हाम्रो भण्डारी परिवारको तर्फबाट धन्यबाद ज्ञापन गर्दछौं ‘
जापानको नेपाली समुदायमा चिरपरिचित सामाजिक ब्यक्तित्वकारुपमा एउटा स्थापित अगुवाको पहिचान बनाउनुभएका भण्डारी जापानको नेपाली समाजमा १९९० को दशकदेखि नै कुनै न कुनै नेपाली अभियानमा निरन्तर क्रियाशील हुँदै आउनुभएको छ । जापानको नेपाली समाजको विकासक्रममा नेपाली समाज जापान (NCJ) को स्थापना, नेपाली भाषा, साहित्य, कला, सँस्कृतिसंग सम्बन्धित संघसंस्थाको स्थापना र विकास, देउसी भैलो, कविता प्रतियोगिता, तीज कार्यक्रम जस्ता कार्यक्रमहरुको सुरुवात लगायतका विभिन्न खालका गतिविधि, पत्रपत्रिकाको प्रकाशनमा सहयोगी भूमिका, पिस फोरम, शान्ति तथा लोकतान्त्रिक मञ्च, एनआरएनएको गठन, साझा संयन्त्र, नेपाली ब्यवसायी संघ (NBA) जापान हुँदै आज पर्यन्त भण्डारी जापानको नेपाली समुदायको दर्जनौ विभिन्न अगुवा संघसंस्थाहरुमा कुनै न कुनै जिम्मेवारीमा क्रियाशील हुनुहुन्छ ।
भण्डारी सुपुत्रीद्वयको मंगलवार टोकियोको इकेगामी खाइकानमा सम्पन्न वैवाहिक समारोहमा ओसाका, फुकुओका, नागोया लगायतका टाढा टाढाका सहरबाट समेत बाक्लो उपस्थिति रहेको थियो ।***