काठमाडौं – लामो समयदेखि जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका मुखिया सूर्यनारायण शाहीको निधन भएको छ । सोमबार राति साढे ९ बजे तिर सुर्खेतको बराहताल गाउँपालिका-८ स्थित सोतखोलामा रहँदै आएका शाहीको निधन भएको हो ।
शाहीको अत्यधिक मदिरा सेवनका कारण निधन भएको सोसेक नेपालसँग आबद्ध र राउटे समुदायसँग काम गर्दै आएका जोडी शिक्षक लालबहादुर खत्रीले जानकारी दिए । २०७२ सालको जेठ महिनामा मुखियाको जिम्मेवारी पाएका शाही पछिल्ला वर्षहरूमा समुदायभित्र प्रभावशाली नेताका रूपमा चिनिँदै आएका थिए । हाल राउटे समुदाय दुई भागमा विभाजित भई बसोबास गरिरहेको छ ।
शाहीले नेतृत्व गर्दै आएको समूह सुर्खेतको सोतखोलामा बस्दै आएको छ भने अर्को समूह वीरेन्द्रनगर-१३ स्थित करेखोलामा दुई अन्य मुखियाको साथमा टहरा बनाइ बसेको छ । राउटे समुदाय नेपालका अति लोपोन्मुख जातिहरूमध्ये एक हो, जसले अझै पनि आधुनिक सभ्यताबाट टाढै रही परम्परागत जीवनशैली अँगाल्दै आएको छ । मुखिया शाहीको निधनले समुदायलाई गहिरो शोकमा डुबाएको छ ।