समाचार सुन्नुहोस :
काठमाडौँ – प्रतिनिधिसभाको बैठक आगामी शुक्रबार अपराह्न ५ बजेसम्मका लागि स्थगित गरिएको छ। मंगलबारको बैठकमा सांसदहरूले आकस्मिक, शून्य र विशेष समयमा आफ्ना धारणा राखे। बैठकमा दुई महत्वपूर्ण विधेयक—‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ र ‘भन्सार विधेयक, २०८१’ बहुमतले पारित गरिएका छन्।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको संशोधन विधेयकलाई सैद्धान्तिक छलफलपछि पारित गरिएको हो। उनले प्रचलित कानुनमा रहेका प्राविधिक त्रुटि सच्याउँदै सुशासन, दिगो विकास र वातावरण संरक्षणमा सहयोग पुर्याउने उद्देश्य रहेको बताए। त्यस्तै, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले पेश गरेको भन्सार विधेयक पनि बहुमतले पारित गरिएको हो। छलफलका क्रममा मन्त्री पौडेलले भन्सार बिन्दुहरूमा देखिएको बेथिति सुधार गर्न र कानुनी प्रणालीलाई एकीकृत गर्न विधेयक ल्याइएको उल्लेख गरे।
पारित विधेयकहरू अब राष्ट्रिय सभामा पठाइनेछ र अन्ततः राष्ट्रपतिको प्रमाणीकरणपछि कार्यान्वयनमा आउनेछन्।