समाचार सुन्नुहोस :
काठमाडौँ – जनमत पार्टीले नागरिक उन्मुक्तिसँगको पार्टी एकतालाई अन्तिम रूप दिन मंगलबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। बैठक आज साँझ ५ बजे मध्यबानेश्वरस्थित पार्टी कार्यालयमा हुनेछ। जहाँ विधान प्रतिस्थापन समितिको मस्यौदा र एकताका विषयमा छलफल हुनेछ।
जनमत र नागरिक उन्मुक्ति (नाउपा) बुधबार एकताको औपचारिक घोषणा गर्ने तयारीमा छन्। दुई दलले एकीकृत पार्टीको नाम, नेतृत्व, नीति, चुनाव चिह्न र झन्डा निर्धारण गरिसकेका छन्। एकीकृत पार्टीको नाम नागरिक जनमत पार्टी रहनेछ भने अध्यक्षमा जनमतका सिके राउत, सहअध्यक्षमा नाउपाकी रञ्जिता श्रेष्ठ र संरक्षकमा रेशम चौधरी हुनेछन्।
पार्टीको झन्डा कलेजी रङको पृष्ठभूमिमा सेतो पिँध सहितको ढकिया हुनेछ भने चुनाव चिह्न पनि ढकिया नै रहनेछ। केन्द्रीय समिति ७०० सदस्यीय हुनेछ। पार्टीले सामुदायिक समाजवाद, प्रत्यक्ष निर्वाचित कार्यकारी, गैरसांसद मन्त्री, जनताबाट संवैधानिक अंग प्रमुखको निर्वाचन लगायतका सिद्धान्तहरू अघि सारेको छ।