काठमाडौं – नौ दिनअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको अमेरिकी चार्टर जेट विमान हालसम्म ग्राउन्डेड अवस्थामा रहेको छ। वैशाख ६ गते नेपाल वायुसेवा निगमको टो-ट्र्याक्टरले ठक्कर दिँदा क्षति पुगेपछि यो विमान उडाउन नसकिने बनेको हो ।
ग्राउन्डेड विमान अमेरिकी कम्पनी गल्फस्ट्रिमको जी-फाइभ मोडेल हो, जसको स्वामित्व ग्रिफन एयरसँग छ। लामो दूरीका भीआईपी तथा व्यापारिक उडानका लागि परिचित यो जेटले अहिले करोडौं रुपैयाँ बराबरको चार्टर तथा कार्गो उडान गुमाइरहेको स्रोतले जनाएका छन् ।
विमानको इन्जिनमा लुब्रिकेन्ट हाल्नका लागि सिनामंगलतर्फको रिभर्स पार्किङ क्षेत्रबाट तान्दा, नेपाल वायुसेवा निगमको टो-ट्र्याक्टरले अगाडिको भाग (नोज) मा ठक्कर दिएको थियो । यसै ठक्करका कारण नोज र रडारमा क्षति पुगेर विमान थन्किन बाध्य भएको हो । विमान मर्मतका लागि आवश्यक सामान ग्रिफन एयरले नै पठाएको र नेपाल वायुसेवा निगमका प्राविधिकले मर्मत कार्य थालेको बताइएको छ । तर अन्तिम प्रमाणीकरणका लागि सिंगापुरबाट इन्जिनियर आउनु पर्ने भएकाले विमान अझ केही दिन काठमाडौंमै रोकिने छ ।
प्रारम्भिक अनुमानमा झन्डै १ करोड रुपैयाँ बराबरको क्षति भएको छ । विमान रोकिँदा बुक भएका थुप्रै चार्टर उडान रद्द भएका छन् र चालक दलका सदस्यहरुको होटल बसाइ अनपेक्षित रूपमा लम्बिएको छ ।
यो विमान आधिकारिक कागजात नभएका तीन नेपालीलाई अमेरिका फर्काउन ल्याइएको थियो । अमेरिकी अध्यागमन विभाग अन्तर्गत चार्टर गरिएको यो १९ सिटे विमान बंगलादेश हुँदै नेपाल आएको थियो, जहाँ उसले १० जना कागजातविहीन बंगालीलाई पनि छोडेको थियो ।