कुनै पनि मान्छेको व्यक्तित्व तयार हुन धेरै समय र मिहिनेत लागेको हुन्छ । हामीहरु जसको व्यक्तित्वबाट प्रभावित भईरहेका हुन्छौं त्यो क्षणभरमै बनेको होइन । रातारात कोही पनि मान्छे महान् बन्न सक्दैन । भनिन्छ, एकैरातमा सगरमाथा चढिन्न । मान्छेले एउटा लोभलाग्दो व्यक्तित्व निर्माण गर्न खास समय र निरन्तरको प्रयास अवश्य खर्चिएको हुन्छ । खराबबाट असल र असलबाट झनै असल बन्न मान्छेले निश्चित मापदण्ड र बानी-ब्यवहारको विकास गर्नैपर्ने हुन्छ । आफुलाई एक उच्च चेत सहितको एक्काइसौं शताब्दीको जिम्मेवार नागरिकका रुपमा विकास गर्न सक्यौं भने मात्र हामी असल व्यक्तित्वको सिंढी उक्लन सक्छौं । त्यसका लागि आफु भित्र भएका खराब आचरणहरु सुधार गरी ज्ञानको क्षितिजलाई पनि फराकिलो बनाउँदै लैजानुपर्दछ ।
भनिन्छ, मान्छे शक्तिशाली बन्न अरुलाई पराजित गरेर होइन, आफैभित्रको खराबीलाई पराजित गरेर मात्र संभव छ । तर आजको समयमा हरेक क्षेत्रमा देखाउने होडबाजी चलेको छ । हाम्रो समाज उत्ताउलिदैं गएको छ । केही दशकअघिसम्म धेरै लुकाएर थोरै देखाउने मान्यता थियो भने अहिले आएर थोरै लुकाएर धेरै देखाउने प्रचलन बढ्दो छ । आज जताततै देखाउने प्रतिस्पर्धाको महामेला चलेको छ । सौन्दर्य प्रतियोगिता, विद्वत प्रतियोगिता, फेशन प्रतियोगिता, गरगहना प्रतियोगिता, धनसम्पत्ति प्रतियोगिता, जिमखाना प्रतियोगिता, खानेकुरा प्रतियोगिता आदि । हरेक तह र तप्काका व्यक्ति–व्यक्तित्वहरु अहिले प्रत्यक्ष-अप्रत्यक्षरुपमा यसप्रकारका प्रतियोगिताहरुमा सगौरव भाग लिईरहेका हुन्छन् ।
हामी अहिले प्राविधिक युगमा छौं । प्रविधिको विकासले हामीलाई तेस्रो विश्वसंग सीधा सम्पर्क गर्न सहज बनाईदिएको छ । प्रविधिको सहज पहुँच र प्रयोगबाट हामी प्रतिस्पर्धाको महामेलामा अरुभन्दा आफुलाई उत्कृष्ट देखाउने ध्याउन्नमा तल्लिन छौं । जसका कारण हाम्रो समाजमा अहिले स्वघोषित सर्बज्ञानी र महान व्यक्तिहरुको बिगबिगी धेरै बढेको छ । त्यसैले त उनीहरु जबर्जस्त आफुलाई सही र योग्य करार गर्न उद्यत देखिन्छन् ।
व्यक्तिको व्यक्तित्व देखाउने वा ढोंग रच्ने जिनिस हुँदै होइन । देखावटी र ढोंगी व्यक्तिको प्रभाव क्षणिक हुन्छ । जसको व्यक्तित्व सत्यताको धरातलमा उभिएको हुन्छ, उसले कुनै नकाव धारण गरिरहनु पर्दैन । जसरी फूलको वासना सर्बत्र मगमगाउँछ त्यस्तै असल व्यक्तिको व्यक्तित्व सर्वत्र आफै फैलिन्छ । जसरी फूलले आफ्नो सौन्दर्यता र सुगन्धित वासनाको विज्ञापन गरिरहनुपर्दैन त्यसरी नै असल व्यक्तिले आफ्नो असल व्यक्तित्वको प्रचार गरिरहनुपर्दैन । भनिन्छ, सुन्दरता आफै देखिने चीज हो, देखाईने चीज होइन । स्वःत देखिने चीज भएकोले त्यसको प्रभाव अनन्त रहन्छ ।
व्यक्तिको व्यक्तित्व कस्तो छ भन्ने कुरो उसको बोलीचाली, भावभंगी, लवाईखवाई र प्रस्तुतिमा झल्किन्छ । उसले प्रयोग गर्ने भाषा, टिकाटिप्पणी र अभिव्यक्तिमा यो प्रष्टै देखिन्छ । भनिन्छ, सकारात्मक सोच राख्ने र राम्रो दृष्टिकोणले व्यक्तिको व्यक्तित्वलाई अझ उजिल्याउँछ । पृथ्वीमा भएका सबै प्रकारका विषय र वस्तुहरुमा विचरण गर्न हामीलाई छूट छ । हाम्रो नांगो आँखाले बिश्वब्रम्हाण्डमा भईरहेका गतिविधिलाई कैद गर्ने क्षमता राख्दछ । यद्यपि हामी सित्तैमा पाईने स्वास्थ्यवर्द्धक स्वच्छ हावा, प्राकृतिक सौन्दर्यता र अर्गानिक शान्त काखभन्दा यान्त्रिक जीवन रोजेर तनाव थपिरहेका छौं । मानवीय सम्बन्ध भन्दा ग्याजेट-मोहमा आज हाम्रो ध्यानकेन्द्रीत छ । तनावले मान्छेको व्यक्तित्वमा ह्रास ल्याउँछ भने उसको दैनिकीलाई अस्तव्यस्त बनाउँछ । मान्छेमा रोग लाग्नुका पछाडि ७५ प्रतिशत कारण अनावश्यक तनाव हो भनेर धेरै अगाडिदेखि विज्ञहरुले भन्दै आईरहेका छन् ।
त्यसकारण व्यक्तित्व निर्माणसंगै यसको व्यवस्थापनको पाटो पनि उत्तिकै महत्वपूर्ण हुने भएकोले स्वास्थ्य खानपान, समयको उचित व्यवस्थापन, नियमित अध्ययन गर्ने बानी, असल मित्रको छनौट, समसामयिक विषयहरुमा बेलाबेलामा छलफल र बहस गर्नाले हामीभित्र रहेका अनुभव, क्षमता र दृष्टिकोणले उजागर हुने अवसर पाउँदछन् । नेपाली नयाँ वर्ष २०८२ ले सारा नेपालीजनहरुको असल व्यक्तित्व निर्माणमा नयाँ उभार ल्याउन सकोस्, शुभकामना ।