काठमाडौं – नेपाल विद्युत् प्राधिकरण (नेविप्राले) हाल सामाजिक सञ्जालमा फैलिएका विद्युत् आपूर्तिसम्बन्धी भ्रमप्रति गम्भीर आपत्ति जनाउँदै देशभर कुनै लोडसेडिङ नभएको प्रस्ट पारेको छ ।
प्राधिकरणका अनुसार देशको कुल जडित विद्युत् क्षमता ३,५१२ मेगावाट पुगेको छ । यसमध्ये नेविप्राको स्वामित्वमा रहेका जलविद्युत आयोजना ६६२ मेगावाट, सौर्य २५ मेगावाट र सहायक कम्पनीहरूमार्फत ६२३ मेगावाट उत्पादन भइरहेको छ । निजी क्षेत्रबाट उत्पादित विद्युत् भने २,१४९ मेगावाट छ । तापिय आयोजना (५३ मेगावाट) हाल बन्द रहेको जानकारी दिइएको छ।
हाल आन्तरिक उत्पादन औसतमा १,१७५ मेगावाट रहेको र विद्युत् मागको उच्च समय (पिक लोड) मा २,०७७ मेगावाट माग भएको बताइएको छ। त्यसमध्ये १,५९३ मेगावाट आन्तरिक उत्पादनबाट र बाँकी आवश्यक विद्युत् भारतबाट आयात गरेर पूर्ति भइरहेको छ ।
गर्मी मौसम र भारतमा समेत माग बढेकाले रातको समयमा विद्युत् आयातमा केही चुनौती देखिएको भए पनि घरायसी ग्राहकलाई २४ सै घण्टा सेवा प्रदान भइरहेको नेविप्राले जनाएको छ । उद्योगहरूलाई पनि अधिकांश समय विद्युत् आपूर्ति भइरहेको र बेलुकाको समयमा खपत कम गर्न आग्रह गरिएको छ ।
प्राधिकरणले हाल मौसमजन्य कारण (आँधी, हुरी, चट्याङ र वर्षा) वा मर्मत तथा संरचना विस्तारका कारण कतिपय स्थानमा अस्थायी विद्युत् अवरोध हुन सक्ने जनाएको छ। यस्ता अवस्थामा उपभोक्तालाई पूर्वसूचना दिइँदै आएको पनि स्पष्ट गरेको छ ।
नेविप्राले सामाजिक सञ्जालमा फैलिएका अतिरञ्जित र भ्रामक सूचनालाई खण्डन गर्दै हाल लोडसेडिङ नभएको र भविष्यमा पनि घरायसी ग्राहकका लागि लोडसेडिङ नहुने पुनः पुष्टि गरेको छ । साथै, नदीहरूमा पानीको बहाव बढ्ने र भारतबाट आपूर्ति सहज हुने अपेक्षाका साथ चाँडै समस्या समाधान हुने विश्वास व्यक्त गर्दै सबै उपभोक्ताप्रति धैर्य र सहयोगको आभार व्यक्त गरेको छ ।