काठमाडौं – नायिका अरुणिमा लम्सालले विवाह गरेको आठ महिनामै सुनसरी जिल्ला अदालतमा सम्बन्ध विच्छेदको माग गर्दै अंशसमेत दाबी गरेकी छन् । अदालत स्रोतका अनुसार उनले पति युवराज श्रेष्ठविरुद्ध सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएकी हुन् ।
लम्सालले २०८१ साउन ३१ गते सुनसरी जिल्ला अदालतबाट नै युवराज श्रेष्ठसँग विवाह गरेकी थिइन् । श्रेष्ठ सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नम्बर १, खरखोलाका स्थायी बासिन्दा हुन् । विवाहपछिको छोटो समयमै सम्बन्धमा दरार आउँदा लम्सालले सम्बन्ध विच्छेदको माग गर्दै फिरादपत्र दर्ता गराएकी हुन् ।
फिरादपत्रमा उनले युवराज श्रेष्ठसँग सम्बन्ध विच्छेद गर्नुका साथै उनको सम्पत्तिको ६ भागमध्ये १ भागबाट आधा भाग आफ्नो नाममा पाउन माग गरेकी छन् । श्रेष्ठको परिवारमा बुवा, दुई आमा, एक दाजु र एक भाइ रहेको उल्लेख गर्दै उनले अंश माग गरेकी हुन् ।
लम्सालले अघिल्लो वैवाहिक सम्बन्धबारे पनि फिरादपत्रमा जानकारी दिएकी छन् । उनले विराटनगर निवासी अमित अर्यालसँग पहिले विवाह भएको र अमेरिका बसाइँका क्रममा पतिपत्नीबीच मनमुटाव आएपछि सम्बन्ध विच्छेद भएको उल्लेख गरेकी छन् ।
फिरादपत्रअनुसार, श्रेष्ठले आफूलाई प्रतिष्ठित व्यापारी र राजनीतिकर्मीको रुपमा चिनाउँदै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका निकट सम्बन्धी भएको दाबी गरेका थिए । स्नातकोत्तर अध्ययन पूरा गरेको बताउँदै विभिन्न नेतासँग खिचिएका फोटो देखाएका श्रेष्ठले अमेरिका गएर व्यापार गर्ने सपना देखाइ विवाहको प्रस्ताव गरेका थिए ।
लम्सालले श्रेष्ठको मिठास बोलिमा विश्वास गरी विवाह गरेकी भए पनि पछि ती दाबीहरू झूठा भएको थाहा पाएको उल्लेख गरेकी छन् । त्यस्तै, श्रेष्ठले व्यवहारमा पनि आपत्तिजनक शब्द प्रयोग गरी गालीगलौज गर्ने र मानसिक तनाव दिने गरेको आरोप लम्सालले लगाएकी छन् ।