टोकियो – तोचिगी प्रान्तको नसुशियोबारा क्षेत्रमा अवस्थित तोहोकु एक्सप्रेस-वेमा शनिबार राति एक सवारी साधनले गलत दिशामा गुड्दा भएका श्रृंखलाबद्ध दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दस जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार राति करिब १० बजेतिर एक कारले तोहोकु एक्सप्रेसवेमा सानो दुर्घटना गरेपछि पनि करिब दुई किलोमिटरसम्म उल्टो दिशामा यात्रा गरेको थियो । त्यसपछि उक्त कारले अर्को सवारीसँग ठोक्किँदा दुई चालकको घटनास्थलमै मृत्यु भएको हो । मृतकहरूमा गलत दिशामा गाडी चलाउने ४२ वर्षीय पुरुष र ठक्कर खाने गाडीका ५६ वर्षीय पुरुष चालक छन् ।
दुर्घटनापछि सडकमा सृजित जामका कारण थप दुई सवारी साधन दुर्घटनामा परेका थिए । त्यसै क्रममा पछाडिबाट आएको एक ट्रकले जाममा रोकिएका सवारीहरूलाई ठक्कर दिँदा ६० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
यो दुर्घटनाका कारण तोहोकु एक्सप्रेसवेमा नासु र कुरोइसोइतामुरो निकासहरूबीच केही घण्टासम्म आवागमन अवरुद्ध भएको थियो । सैतामा र आमोरी प्रान्तलाई जोड्ने यो प्रमुख राजमार्गमा भएको दुर्घटनाले यातायात व्यवस्था प्रभावित भएको छ । प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।