समाचार सुन्नुहोस :
काठमाडौँ – प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफूलाई बेडरुमसम्म बिचौलियाको पहुँच भएको भनेर लाञ्छना लगाउनेहरूलाई प्रमाण पेश गर्न चुनौती दिएका छन्। मदन भण्डारी फाउण्डेशनको चौथो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले राजनीतिमा षड्यन्त्र र झेली खेल्नेहरूविरुद्ध आक्रोश पोखेका हुन्।
ओलीले एमाले र नेपाली कांग्रेसको सहकार्यमा बनेको सरकार स्थायित्व, विकास र सुशासनको दिशामा अघि बढिरहेका बेला सरकार र नेतृत्वविरुद्ध झुटा आरोप लगाउन थालिएको टिप्पणी गरे। उनले एमालेलाई आगामी निर्वाचनमा निर्णायक राष्ट्रिय शक्तिमा रूपान्तरण गर्ने लक्ष्य रहेको बताए।
प्रधानमन्त्री ओलीले शेरबहादुर देउवाको थाइल्याण्ड भ्रमणपछि सरकार आजै ढल्ने भोलि ढल्ने भनेर प्रचार गर्नेहरू अहिले निराश भएको बताए। पार्टीभित्र विश्लेषणात्मक चेत आवश्यक भए पनि अनावश्यक आलोचनामुखी चेतले संगठन कमजोर हुने उल्लेख गर्दै उनले एकताको भावना बलियो बनाउन आह्वान गरे।