समाचार सुन्नुहोस :
काठमाडौँ – नयाँ बानेश्वरमा प्रहरी र आन्दोलनरत शिक्षकहरूबीचको तनावपूर्ण झडपपछि नेपाल शिक्षक महासंघले आकस्मिक बैठक आह्वान गरेको छ। आन्दोलन चर्किएपछि महासंघले तत्काल बैठक बोलाउने निर्णय गरेको हो।
महासंघले आज दिउँसो तीन बजे रत्नराज्य मावि, बानेश्वरमा बैठक आयोजना गरेको छ। बैठकमा महासंघका केन्द्रीय पदाधिकारीहरू, जिल्ला अध्यक्षहरू र आन्दोलन परिचालन समितिका सदस्यहरूलाई उपस्थित हुन आग्रह गरिएको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार बैठकमा आजको घटनाक्रम र आन्दोलनको आगामी रणनीतिबारे छलफल हुनेछ।
प्रहरीसँगको झडपमा एक दर्जनभन्दा बढी शिक्षकहरू घाइते भएका छन्। महासचिव तुला बहादुर थापाले घाइतेहरूलाई सिभिल अस्पताल लगायतका स्वास्थ्य संस्थामा उपचार गराइरहेको जानकारी दिए। सामान्य चोट लागेका शिक्षकहरूको भने आन्दोलन स्थलमै प्राथमिक उपचार गरिएको छ।
नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले शिक्षक र विद्यालय कर्मचारीहरूलाई तितरबितर पार्न लाठीचार्ज र पानीको फोहोरा प्रयोग गरेको थियो। प्रहरीले बल प्रयोग गरेपछि आक्रोशित शिक्षकहरूले पनि प्रतिकार गर्दै सडक छेउका ढुंगामाथि आश्रित भई प्रहरीमाथि प्रहार गरेका थिए।