समाचार सुन्नुहोस :
काठमाडौँ – शुक्रबार प्रतिनिधिसभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले चैत १५ गते तीनकुने घटनाका बेला कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटबाट सत्तारुढ दलका सहमहामन्त्रीका छोराले रक्सी चोरेको आरोप लगाए। लिङ्देनले पक्राउपछि छोरा सहमहामन्त्रीको नातेदार भएको थाहा पाउँदा तत्काल छाडिएको प्रमाण आफूहरूसँग भएको दाबी गरे। यद्यपि उनले दल वा व्यक्तिको नाम खुलाएका थिएनन्।
यस विषयमा मिडियामा कांग्रेस सहमहामन्त्री महेन्द्र यादवका छोरा संलग्न भएको भन्दै समाचार आए पनि यादव र उनका छोराले आरोप अस्वीकार गरेका छन्। आइतबारको संसद बैठकमा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रमाण पेश गर्न लिङ्देनलाई चेतावनी दिए र यदि प्रमाण छैन भने अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरे।
राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भने लिङ्देनले कसैको नाम नलिएर मात्रै घटनाबारे बोलेको स्पष्ट पारे। उनले संसदमा सत्तारुढ दलले आफैं दोष स्विकारेको संकेत पनि गरे।