टोकियो – जापानको प्रख्यात मार्शल आर्ट खेल (केन्दो) नेपालमा लोकप्रिय बनाउने उद्देश्यसहित नेपाल केन्दो संघले काठमाडौं-मासुमोतो मैत्रीपूर्ण केन्दो प्रतियोगिता गर्ने तयारी गरेको छ । नेपालमा केन्दोको विकास र विस्तारलाई तीव्रता दिन यो प्रतियोगिता ऐतिहासिक महत्वको मानिएको छ ।
आजभन्दा ३५ वर्षअघि, सन् १९८९ को नोभेम्बर १७ तारिखका दिन काठमाडौं महानगरपालिका र जापानको मासुमोतो नगरबीच औपचारिक भगीनी सम्बन्ध स्थापना भएको थियो । दुई शहरबीचको मित्रता सुदृढ पार्न विभिन्न अवलोकन भ्रमण, सांस्कृतिक आदानप्रदान तथा खेलकुद कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् ।त्यसै अनुकूल, सन् २००१ मा काठमाडौं र मासुमोतो नगरको संयुक्त लगानीमा एमएमएसी निर्माण गरिएको थियो । एमएमएसी स्थापना पश्चात् सन् २०१० देखि नेपाल केन्दो संघले आफ्नो गतिविधि औपचारिक रूपमा यहीँबाट सञ्चालन गर्दै आएको छ ।
नेपाल केन्दो संघका प्रतिनिधिहरूले हालै जापानको मासुमोतोस्थित केन्दो हलमा अतिथिको रूपमा अवलोकन भ्रमणसमेत सम्पन्न गरेका छन् । उक्त भ्रमणले नेपाली खेलाडी र प्रशिक्षकहरूलाई जापानी केन्दो संस्कृतिबाट प्रत्यक्ष सिक्न र अनुभव सँगाल्न अवसर मिलाएको छ ।
नेपालमा हाल केन्दो 3rd Dan (थ्री डन) सम्मका खेलाडीहरू रहेका छन् । नेपाल केन्दो संघले आगामी दिनमा अझ उच्च स्तरका खेलाडी (प्रमोट गरी) तयार पार्ने योजना अघि सारेको छ । संघको दीर्घकालीन लक्ष्य नेपालमा केन्दो खेललाई लोकप्रिय बनाउँदै अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउनु रहेको छ ।