समाचार सुन्नुहोस :
काठमाडौँ – सत्तारूढ दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी १४ महिनापछि प्रधानमन्त्री पदबाट राजीनामा दिने बताएका छन्। शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
राजनीतिक वृत्तमा सरकार परिवर्तनको चर्चा चुलिएको सन्दर्भमा सञ्चारकर्मीहरूले सोधेको प्रश्नको जवाफमा ओलीले भने, “अब १४ महिनापछि मैले राजीनामा गर्छु, शेरबहादुरजी प्रधानमन्त्री हुनुहुन्छ।” यता, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो संसदीय दलको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा थाइल्यान्डबाट फर्किएपछि नयाँ सत्ता समीकरणबारे छलफल गर्ने बताएका थिए।
ओलीको यो अभिव्यक्तिलाई कतिपयले व्यंग्यका रूपमा पनि व्याख्या गरिरहेका छन् भने केहीले सत्ता हस्तान्तरणबारेको पूर्वसम्झौतासँग जोडेर हेरेका छन्। यद्यपि, औपचारिक रूपमा गठबन्धनको रूपरेखा वा सहमति भने सार्वजनिक भइसकेको छैन।