काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले कांग्रेस महामन्त्री गगन थापालाई धन्यवाद दिएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा पुनले सरकारको बारेमा कांग्रेस महामन्त्रीले सत्य बोलेको भन्दै थापालाई धन्यवाद दिएका हुन् ।
‘सत्तारूढ पार्टीका शक्तिशाली महामन्त्री र सरकार सञ्चालन गर्ने संयन्त्रका सदस्यले नै विचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरूमसँम्मै छ भन्नु भयो,’ उनले भने, ‘ढिलै भए पनि सत्य बोल्नु भएकोमा धन्यवाद ।’ पुनले प्रतिपक्षले र सत्तापक्षका केही नेताहरूले मात्र नभई सार्वजनिक मञ्च र जनताले समेत सरकारलाई विचौलिया र स्वार्थ समूहको सरकार भनेको बताए ।
माओवादीले सुरूदेखि नै भन्दै आए पनि त्यसलाई सरकारबाट बाहिरिनुको छटपटी भनिएकोमा पुनले खण्डन गरे । ‘१० महिनाको अवधिले हामीले गरेको दाबी सत्ताबाट बाहिरनु पर्दाको पीडा वा प्रतिपक्षले लगाउने कर्मकाण्डी आरोप थिएन भन्ने कुरा सरकारको एकपछि अर्को व्यवहारले पुष्टि गरेको छ,’ उनले भने । १० महिनासम्म विचौलियाको संरक्षण र प्रतिपक्षको विरोध मात्रै गरेर ब्यतित गरेको पुनको भनाइ छ ।