नागानो – मध्य जापानको नागानो प्रान्तमा बिहीबार कार दुर्घटनामा परी चार जना अटोमोबाइल मिस्त्री प्रशिक्षार्थीको मृत्यु भएको छ । कार नदीको किनारमा रहेको जलगेटमा ठोक्किएर दुर्घटना भएको स्थानीय प्रहरीले जानकारी दिएको छ ।
दुर्घटना दिउँसो १२ः३५ बजे तिर इडा सहरस्थित टेनर्यु नदीको छेउमा भएको हो । २० वर्षीय र्योसेई इकेदाको चालकत्वमा रहेको यात्रुवाहक सवारी अनियन्त्रित भएर सडकबाट चिप्लिएर जलगेटमा ठोक्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
इडा व्यावसायिक तालिम केन्द्रका प्रमुख हिरोकाजु आइजावाका अनुसार चारै जना प्रशिक्षार्थी उक्त संस्थामा अटोमोबाइल मिस्त्री तालिम लिँदै आएका थिए । उनीहरू बिहानको कक्षा सकेर दिउँसोको खाना खाने समयमा बाहिर निस्किएका थिए ।
प्रहरीका अनुसार मृतकहरूमा चालक इकेदासहित तीन यात्रीहरू १९ वर्षीय युया कोंडो, २० वर्षीय रेन् सुगिजाकी, र १९ वर्षीय आउटो कात्सुनो रहेका छन् । दुर्घटना भएको स्थान इडा स्टेशनबाट करिब ५ किलोमिटर दक्षिण-पूर्वतर्फ पर्दछ । नजिकै बस्ने ४० वर्षीया एक नर्सिङ कार्यकर्ताले भनिन्, ‘म त्यहाँ गाडी चलाउँदा विशेष सावधानी अपनाउँछु किनभने त्यहाँ धेरै अँध्यारा मोडहरू छन् ।’
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । प्रारम्भिक संकेतअनुसार तीव्र गतिका कारण चालकले सन्तुलन गुमाएको हुनसक्ने अनुमान गरिएको छ ।