टोकियो – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको उच्च आयात शुल्कको असर न्यूनीकरण गर्न जापानी सरकारले शुक्रबार आपतकालीन आर्थिक राहत प्याकेज सार्वजनिक गरेको छ । आगामी साता हुन लागेको जापान-अमेरिका दोस्रो चरणको द्विपक्षीय व्यापार वार्ताको पूर्वसन्ध्यामा यो कदम चालिएको हो ।
प्रधानमन्त्री शिगेरु इसिबाको नेतृत्वमा प्रस्तुत गरिएको राहत प्याकेज पाँच मुख्य आधारमा आधारित छ, जसमा कम्पनीहरूलाई वित्तीय सहयोग, उपभोगलाई प्रोत्साहन गर्ने कदम, पेट्रोल र डिजेलको मूल्यमा प्रति लिटर १० येनले कटौती, ऊर्जा बिलमा अनुदान र साना तथा मझौला उद्योगलाई दिइने कम ब्याजदरको ऋणको दायरा विस्तार गर्ने प्रस्तावहरू समावेश छन् ।
प्याकेज तयार पार्ने बैठकमा प्रधानमन्त्री इसिबाले उच्च अमेरिकी शुल्कले जापानको निर्यातमाथि नकारात्मक असर पार्न सक्ने भन्दै त्यसको प्रभाव न्यून पार्न अधिकतम प्रयास गर्न अधिकारीहरूलाई निर्देशन दिए । ‘यस किसिमका शुल्कले हाम्रो देशका मूल आधार ठानिएका उद्योगजस्तै गाडी र इस्पातलाई गम्भीर असर पार्न सक्छ,’ इसिबाले भने, ‘टोकियो र वाशिङ्टनबीच पारस्परिक लाभका लागि सहकार्य आवश्यक छ ।’
इसिबाले थपे, ‘जापानी व्यवसायहरूले अमेरिका भित्र लगानी र रोजगारी सिर्जना गरेर अमेरिकी अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिइरहेका छन् भन्ने तथ्य अमेरिका समक्ष स्पष्ट रूपमा राख्नु अत्यन्त आवश्यक छ ।’
अर्थतन्त्र पुनर्जीवन मन्त्री र इसिबाका निकट सहयोगी र्योसेई अकाजावा आगामी बुधबारदेखि तीन दिनका लागि फेरि अमेरिकाको भ्रमणमा जाने तयारीमा छन् । उनले त्यहाँ अमेरिकी कोष सचिव स्कट बेसेन्टसँग वार्ता गर्नेछन्, जो जापानसँगको वार्तामा प्रमुख व्यक्ति मानिन्छन् ।
अकाजावाको भ्रमणलाई जापानले ट्रम्प प्रशासनद्वारा गरिएका व्यापक शुल्कहरूमा छूट वा संशोधनको माग राख्ने अवसरको रूपमा हेरेको छ । जापानले ती शुल्कलाई विश्वव्यापी व्यापारको स्थिरतामाथि ठुलो खतरा भएको बताउँदै आएको छ ।
यदि दोस्रो चरणको वार्ताबाट सन्तोषजनक नतिजा प्राप्त भएन भने, इसिबा सरकारले जापानी उत्पादकहरूको उत्पादनमा गिरावट र उपभोक्ता विश्वासमा आएको गिरावटलाई रोक्न थप उपायहरू पनि सार्वजनिक गर्नसक्ने स्रोतहरूले जनाएका छन् । राष्ट्रपति ट्रम्पले गाडी, इस्पात र एल्युमिनियम आयातमा उच्च शुल्क गर्ने कदम चालेका छन् ।