समाचार सुन्नुहोस :
काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मेटा (फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, म्यासेन्जर) लाई ७ दिनभित्र नेपालमा दर्ता नगरे प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। राष्ट्रिय सूचना आयोगको कार्यक्रममा बोल्दै उनले मेटाले नेपालको कानून बेवास्ता गरेको आरोप लगाए।
मन्त्री गुरुङले भने, “मेटाले नेपालबाट प्रतिदिन लाखौं रुपैयाँ कमाउँदै छ, तर दर्ता र कर तिर्न अस्वीकार गरिरहेको छ। यसले देशको अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेको छ।” उनले मेटाको आम्दानी नेपालको जिडिपी भन्दा धेरै भएको दावीलाई घमण्डपूर्ण बताए।
यसअघि तीन पटक दर्ता गर्न आग्रह गरिए पनि मेटाले अनुसरण नगरेपछि अब अन्तिम ७ दिने अल्टिमेटम दिइएको छ। मन्त्रीले नेपालमा हाल टिकटक, भाइबर र वी-टक मात्र दर्ता भएको जनाए। उनले सोसल मिडियाबाट फैलिएका गलत सूचना नियन्त्रण गर्न पनि दर्ता अनिवार्य भन्ने जोड दिए।