काठमाडौं – २०७२ सालको वैशाख १२ गते । समय थियो, बिहानको ११ बजेर ५६ मिनेट । देशभक्त नेपालीका हृदय अझै काँप्छन् जब त्यो मितिको सम्झना आउँछ । गोरखाको बारपाक केन्द्रविन्दु भएको विनाशकारी भूकम्पले केवल धरहरा मात्र हैन, लाखौँको जिन्दगी, सपना र आशा पनि चुँड्याएको थियो ।
भूकम्प गएको दशक पूरा भइसक्यो । तर, अझै पनि राजधानीका गल्लीहरूदेखि पहाडका पाखासम्म अधुरा घर र अधुरो आशाले बाँचेका अनुहार देख्न सकिन्छ । थुप्रै बस्तीहरू अझै पनि पुनर्निर्माणको प्रतीक्षामा छन्, जहाँ ईँटाभन्दा धेरै सम्झनाहरू ढलेका थिए । सरकारी तथ्यांकले पुनर्निर्माणको अवस्थालाई देखाउँछ, तर पीडितका आँखामा अझै अधुरो छ त्यो सपना-आफ्नो छानो मुनि शान्त जीवन बिताउने ।
सरकारले आठ लाख ३५ हजारभन्दा बढी भूकम्पपीडितलाई निजी आवास निर्माणका लागि लाभग्राहीका रूपमा पहिचान गरेको छ । तीमध्ये अधिकांशले पहिलो किस्ता पाए पनि तेस्रो किस्ता पाउने संख्या ८९ प्रतिशतमै सीमित छ । सबैको घर निर्माण सम्पन्न भएको छैन । सरकारी कर्मचारीहरू भन्छन्- ‘३ लाखको अनुदानले घर बनाउनु सम्भव छैन। धेरैजसो पीडितले थप लगानी जुटाउन सक्दैनन् ।’
सहर र गाउँका कतिपय बासिन्दा अझै भत्केका घरको नजिकै पाल टाँगेर बसेका छन् । घर नहुनु केवल बासको समस्या हैन, आत्मसम्मान र सुरक्षाको विषय पनि हो । पुराना सम्पदा, गुम्बा, दरबार, राणाकालीन भवन ! यी सबै भूकम्पको चपेटामा परेका थिए । पुरातत्व विभागका अनुसार एक हजार ५०० मध्ये ८१५ वटा संरचनाको मात्र पुनर्निर्माण सम्पन्न भएको छ । बाँकी संरचनाको काम अझै अधुरै छ ।
अहिले पनि धरहराको पुनर्निर्माण १४ प्रतिशत बाँकी छ । त्यस्तै, गोरखा दरबार, हनुमानढोका दरबार, पशुपतिनाथ क्षेत्रलगायत विश्व सम्पदा क्षेत्रका थुप्रै सम्पदामा काम भइरहेको छ, तर गति सुस्त छ । आवश्यक कच्चा पदार्थको अभाव र नीतिगत अस्पष्टता मुख्य चुनौती भएको अधिकारीहरू बताउँछन् ।
सरकारले विभिन्न चरणमा योजनाहरू ल्यायो, अनुदान बाँड्यो, नयाँ नक्सा बनायो । तर, महालेखापरीक्षकको प्रतिवेदन स्पष्ट देखाउँछ- पुनर्निर्माण प्रभावकारी रूपमा अगाडि बढ्न सकेको छैन । खासगरी दिगो पुनर्निर्माण, बस्ती सुधार र विस्थापितहरूको पुनर्वासजस्ता क्षेत्र अझै पछाडि परेका छन् । भूकम्पपछि पुनर्निर्माणका लागि चार खर्बभन्दा बढीको संशोधित लागत अनुमान गरिएको थियो । तर खर्चको पारदर्शिता, कामको गुणस्तर र समयसीमाले बारम्बार प्रश्न उठाउँदै आएका छन् ।
भूकम्पले के सिकायो ? के सिकेनौँ ?
खानी तथा भूगर्भ विभागअन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले भूकम्प गएमा के गर्ने ? के नगर्ने विपद्मा कसरी संयमता अपनाउने रु सुरक्षित हुने तरिका के हुने ? लगायत विषयमा २०७२ सालको भूकम्पले पाठ सिकाएको बताए । ‘नेपालमा जुनसुकै बेलामा पनि भूकम्प जाने जोखिम छ । काठमाडौँदेखि दक्षिणतिरको चुरे क्षेत्रसम्म भूकम्कपीय जोखिम बढी छ । भूकम्प जाँदा अब कसरी सुरक्षित हुने, कसरी आफ्ना संंरचना भूकम्प प्रतिरोधी बनाउनेलगायत विषयमा हामीले पाठ सिकेका पनि छौँ,’ उनले भने, ‘२०७२ सालको विनाशकारी भूकम्पपछि कतिले त उपत्ययकामा अग्ला घर भत्काएर होचा पनि बनाएका थिए । संरचना बलियो हुनुपर्ने चेतना आएको थियो । त्यसपछि भवन आचारसंहिता अधिकांश स्थानीय तहले लागू गरेका छन् । खुला स्थान चाहिन्छ र पूर्वतयारी आवश्यक रहेको पाठ सिकायो ।’
अझै पूर्वतयारीका गतिविधि अगाडि बढाउन सकेमा भविष्यमा आउन सक्ने सम्भावित भूकम्पीय जोखिम न्यूनीकरण हुन सक्ने अधिकारीको भनाइ छ । अधिकारीले २०७२ सालपछि भूकम्पसम्बन्धी अध्यायन अनुसन्धानलाई प्रथामिकता दिनु सकरात्मक रहेको टिप्पणी गरे। आर्किटेक इन्जिनियर अमितप्रसाद तिमल्सेनाले पनि भूकम्पपछि संरचना भूकम्पप्रतिरोधी बनाउनुपर्ने चेतना बढाएको बताए । अबको चुनौती भनेको बाँकी काम समयमै सम्पन्न गर्नु, योजना पारदर्शी बनाउनु र भूकम्पपछिको पुनर्निर्माणलाई ‘इतिहासको घाउ’बाट ‘उत्कृष्ट पुनर्निर्माणको उदाहरण’मा रूपान्तरण गर्नु हो ।