काठमाडौं – एमाले नेता महेश बस्नेतले ऊर्जा राज्यमन्त्रीबाट बर्खास्त गरिएका पूर्णबहादुर तामाङमाथि गम्भीर आरोप लगाएका छन् । तामाङले राष्ट्रबैंकको गभर्नर नियुक्तिका लागि २० करोडको डिल गरेको प्रमाण फेला परेको उनको दाबी छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा तामाङलाई पदमुक्त गरिएको एक दिनपछि, नेता बस्नेतले सामाजिक सञ्जालमार्फत् यो गम्भीर आरोप सार्वजनिक गरेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि २० करोडको डिल गरिएको प्रमाण फेला परेपछि प्रधानमन्त्रीले उनलाई बर्खास्त गर्नु भयो ।’
बस्नेतले तामाङमाथि थप आरोप लगाउँदै भनेका छन् कि पद गुमेपछि उनी ‘राजनीतिक प्रतिशोध’ भन्दै प्रधानमन्त्रीविरुद्ध मिडियामा अनर्गल आरोप लगाएर नाटक गर्दै हिँडेका छन् । ‘जो चोर उसैको ठूलो स्वर भनेजस्तो’ अवस्था देखिएको उनको टिप्पणी छ ।
तामाङ नेपाली कांग्रेस रामेछापका सभापति समेत हुन् । बस्नेतका अनुसार तामाङको नाममा २० भन्दा बढी विकास योजना कालो सूचीमा परेका छन् । ‘ऊर्जा राज्यमन्त्रीको हैसियतमा उनले ठेक्कापट्टा मिलाउने, काम अधुरो छाड्ने, अनि कुलमान घिसिङसँग मिलेर अर्बौंको ठेक्कामा अनियमितता गर्ने काम गरेका छन्,’ बस्नेतको गम्भीर आरोप छ ।