समाचार सुन्नुहोस :
काठमाडौँ – संघीय संसद्को वर्षे अधिवेशन भोलि शुक्रबारदेखि सुरु हुने भएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरेअनुसार नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजेबाट बैठक सुरु हुनेछ। नेपालको संविधानको धारा ९३ अनुसार राष्ट्रपतिले संसद्का दुवै वा कुनै एक सदनको अधिवेशन बोलाउन सक्ने व्यवस्था छ। तर, एउटाको अन्त्यपछि अर्को अधिवेशनबीच अधिकतम ६ महिनाको अन्तराल मात्र हुनसक्ने संवैधानिक प्रावधान छ। यसअघि चैत १८ गते हिउँदे अधिवेशन सकिएको थियो।
सामान्यतः वर्षको पहिलो अधिवेशनमा राष्ट्रपतिले संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रममार्फत सम्बोधन गर्ने प्रचलन रहेको छ। यसपटक पनि राष्ट्रपतिबाट नीति तथा कार्यक्रम वैशाख १९ गते प्रस्तुत गरिनेछ भने वैशाख २८ देखि प्री-बजेट छलफल सुरु हुने अपेक्षा गरिएको छ। प्री-बजेट छलफल बजेट आउनुभन्दा कम्तीमा १५ दिनअघि गरिनु पर्ने कानुनी व्यवस्था छ। जेठ १५ गते अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेट संसद्मा प्रस्तुत गर्नेछन्। त्यसैले यस अधिवेशनलाई ‘बजेट अधिवेशन’ पनि भनिन्छ।
यसपटकको अधिवेशनमा लामो समयदेखि प्रतिक्षामा रहेका संघीय निजामती सेवा ऐन र विद्यालय शिक्षासम्बन्धी विधेयकलाई निष्कर्षमा पुर्याउने प्रयास गरिनेछ। संसद् सचिवालयले आवश्यक सम्पूर्ण तयारी पूरा भएको जानकारी प्रवक्ता एकराम गिरीले दिएका छन्।