समाचार सुन्नुहोस :
काठमाडौँ – कश्मिरको पाहलगममा आतंककारी आक्रमणमा ज्यान गुमाएका नेपाली नागरिक सुदीप न्यौपानेको शव आजै नेपाल ल्याइने भएको छ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको पहलमा भारतीय विदेश मन्त्रालयसँग समन्वय गरी शव ल्याउने व्यवस्था मिलाइएको हो।
बुटवल–११, कालिकानगर निवासी न्यौपानेको साथमा रहेका आफन्तहरू रिमकला पाण्डे, युवराज काफ्ले, सुषमा न्यौपाने र हरिप्रसाद सापकोटालाई पनि संगै नेपाल ल्याइँदैछ। घाइते रिमकलासहित उनीहरू श्रीनगरबाट नयाँ दिल्ली, त्यहाँबाट लखनउसम्म हवाई यात्रा गरेर एम्बुलेन्समार्फत नेपाल ल्याइनेछन्। यस प्रक्रियामा सहयोग पुर्याउन दिल्लीस्थित नेपाली दूताबासका दुई कर्मचारी विमानस्थलमा खटिएका छन्। गृहजिल्ला बुटवलसम्म पुर्याउने व्यवस्था गर्न परराष्ट्रमन्त्री राणाले गृहमन्त्री रमेश लेखकसँग पनि समन्वय गरेकी छन्।
घटनापछि सुदीपका आफन्तहरूले तत्काल फर्कन चाहेको भन्दै आग्रह गरेपछि सरकारले समन्वय गरेको हो। नेपाल सरकारले काश्मिर हमलाको कडा शब्दमा निन्दा र भर्त्सना गरेको छ।