समाचार सुन्नुहोस :
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसम्बन्धी बन्दी प्रत्यक्षकरण रिट सर्वोच्च अदालतमा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ। पूर्पक्षका लागि थुनामा रहेका लामिछानेको पक्षमा उनकी पत्नी निकिता पौडेलले आइतबार सर्वोच्च अदालतमा रिट दर्ता गरेकी थिइन्। बुटवलस्थित सुप्रिम सहकारीको ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालत तुल्सीपुर बुटवलको आदेशअनुसार लामिछाने हाल थुनामा छन्।
यसअघि पनि उनी सर्वोच्चमा ७३ नम्बर निवेदन लिएर पुगेका थिए। सो निवेदनमा न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको थियो। सोही आदेशको सुनुवाइ अघि बढ्न बाँकी रहेको अवस्थामा पुनः नयाँ रिट दर्ता भएको हो।
नयाँ रिटमा लामिछानेलाई गैरन्यायिक रूपमा थुनामा राखिएको आरोप लगाउँदै रिहाइको माग गरिएको छ। आइतबार दर्ता भएको उक्त रिट सोमबारको पेसीमा परेको थियो। तर न्यायाधीश हरि फुयालको इजलासले ‘हेर्न नमिल्ने’ सूचीमा राखेपछि त्यसको सुनुवाइ अगाडि बढ्न सकेन।