काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता दीपक सिंहले राप्रपाका नेताहरु जेल जान मात्र नभएर गोली खान पनि तयार भएको बताएका छन् । आइतबार सिंहदरबारमा नियन्त्रण गर्न गएको प्रहरीबाट फुत्किएर बानेश्वर प्रदर्शनमा पुगेका सिंहले राप्रपाका नेताहरु जेल जान मात्र नभएर गोली खान पनि तयार भएको बताएका हुन् ।
उनले भने, ‘यो नालायक सरकारले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानेन्द्र शाहीलगायत साथीहरूलाई प्रहरीले पक्राउ गर्यो त्यसमा म पनि थिए । हामीले पहिले नै भनेको निषेधित क्षेत्र आज तोडेर देखायाै । राष्ट्र जनताको लागि जेल जान त परैजाओस गोली थाप्न पनि हामी तयार छौँ ।’
आइतबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन सहितका नेताहरुलाई सिंहदरबारबाटै प्रहरीले नियन्त्रणमा लिएको छ । त्यतिबेला सांसद सिंह पनि त्यहीँ थिए । उनी प्रहरी नियन्त्रणमा नपरी अहिले प्रदर्शनस्थलमा पुगेका छन् । लिङदेनसहित राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसद दीपक सिंहलगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।