समाचार सुन्नुहोस :
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाही र उपाध्यक्ष बुद्धिमान तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सिंहदरबार गेटभित्रै नाराबाजी गरेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। शाहीले नारा लगाउन थालेपछि सुरक्षाकर्मीहरूले तत्काल हस्तक्षेप गर्दै उनीहरूलाई गाडीमा राखेर लगिएको छ।
प्रदर्शनमा निस्कनुअघि राप्रपाका सांसदहरू सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भेला भएका थिए। सोही बैठकपछि निषेधित क्षेत्रतर्फ जान तयार भइरहेका बेला प्रहरीले निगरानी गर्दै नियन्त्रणमा लिएको हो। त्यसैबीच, राप्रपाका कार्यकर्ताहरू बानेश्वरको निषेधित क्षेत्र अगाडि प्रदर्शनमा उत्रिएका छन्। उनीहरूले प्रहरीद्वारा राखिएको ब्यारिकेड तोड्ने प्रयाससमेत गरेका थिए। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरीले प्रदर्शनकारीहरूमाथि निगरानी कडा बनाएको छ।