समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व राष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा सक्रिय हुन कुनै कानुनी वा संवैधानिक प्रतिबन्ध नरहेको स्पष्ट पारेका छन्।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष दाहालले पूर्व राष्ट्रप्रमुखहरूलाई राजनीतिमा फर्कन न संविधानले रोक्ने व्यवस्था गरेको छ, न त अन्तर्राष्ट्रिय अभ्यासले नै, भन्दै उनीहरूको पुनः सक्रियतामा आपत्ति जनाउनु उपयुक्त नहुने तर्क गरे।शनिबार प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रचण्डबीच भएको त्रिपक्षीय बैठकको प्रसङ्ग उठाउँदै उनले बैठक मुख्यतः शान्ति प्रक्रिया टुंग्याउने विषयमा केन्द्रित रहेको जानकारी दिए।
त्यस्तै, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउने विषयमा ती तीन प्रमुख दलबीच कुनै मतभेद नरहेको दाहालले प्रष्ट पारे। उनका अनुसार, देशको राजनीतिक स्थायित्व र संक्रमणकालीन न्यायको निष्कर्षमा पुग्न साझा सहमति निर्माण हुँदैछ।