समाचार सुन्नुहोस :
काठमाडौँ – काठमाडौंका निषेधित क्षेत्रमा प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरूले आज, वैशाख ७ गते, आयोजना गर्न लागेको प्रदर्शनलाई दृष्टिगत गर्दै प्रहरीले तैनाथी बढाएको हो।
प्रहरी स्रोतका अनुसार, राप्रपाले निषेधित क्षेत्रको सीमाना उल्लंघन गर्दै आन्दोलन गर्ने चेतावनी दिएकोले उच्च सतर्कता अपनाइएको हो। सामान्य अवस्थामा भन्दा दोब्बर संख्या प्रहरी खटाइएको जनाइएको छ। प्रहरी प्रधान कार्यालय तथा विभिन्न गणहरूबाट समेत थप जनशक्ति परिचालन गरिएको छ। माइतीघर, नयाँ बानेश्वर, राष्ट्रपति भवन, सिंहदरबार जस्ता संवेदनशील स्थानहरूमा व्यापक प्रहरी उपस्थिति देखिएको छ। विशेष गरी माइतीघरदेखि तीनकुनेसम्मको सडक खण्ड पूर्ण रूपमा आवागमनका लागि बन्द गरिएको छ।
यता, राप्रपाले भने सानो संख्यामा मात्र नेताहरू प्रदर्शनमा सहभागी हुने जानकारी दिएको छ। परिस्थिति नियन्त्रणमा राख्नका लागि सुरक्षा संयन्त्र सजग देखिएको छ।