काठमाडौं – नेपाल यु-१९ विश्व कपमा छनोट हुन असफल भएको छ । प्रतिकुल मौसमको कारण टस हुन नसकी नेपाल र अफगानिस्तानबीचको खेल रद्द भएसँगै नेपालको विश्व कपको यात्रामा पूर्णविराम लागेको हो ।
अर्को वर्ष जिम्बाब्वे र नामिबियामा हुने आसिसी यु-१९ विश्व कपमा प्रवेशको लागि आज नेपाललाई अफगानिस्तानलाई हराउनै पर्ने थियो । तर हिजो साँझदेखि र आज बिहान परेको पानीको कारण खेल समयमा सुरु हुन सकेन । आज बिहान करिब ९ बजे पानी पर्न रोकियो।
तर भिजेको मैदानले खेल हुन नसक्ने अम्पायरले निर्णय गरेसँगै अफगानिस्तान विश्व कपमा छनोट भयो । नेपालको नवौं पटक विश्व कप खेल्ने सपना पूरा हुन पाएन ।
यसअघि नेपालले ८ पटक विश्व कप खेलेको इतिहास छ । नेपाल र अफगानिस्तान दुवैले समान ३ खेल जितेर ६ अंक बनाएका थिए । तर रन रेटमा अफगानिस्तानले बाजी मार्यो । अफगानिस्तानसँग ४.८१ र नेपालसँग ३.५७ रन रेट रहेको छ । रन रेटमा नेपाल पछि पर्यो । छनोमा नेपाल, अफगानिस्तान, ओमान, हङ्कङ र युएईको सहभागिता थियो ।