समाचार सुन्नुहोस :
काठमाडौँ – सभामुख देवराज घिमिरेले मुलुकमा सुशासन नहुनुको प्रमुख कारण राजनीतिक अस्थिरता भएको बताएका छन्। असल शासन संरक्षण मञ्चद्वारा आयोजित ‘राष्ट्रिय सुशासन शिखर सम्मेलन–२०२५’ मा बोल्दै उनले राजनीतिक नेतृत्व र निर्वाचित जनप्रतिनिधिहरू सुशासनप्रति प्रतिबद्ध र उत्तरदायी हुनुपर्ने बताए।
उनले शासकीय प्रणाली वा निर्वाचन प्रणालीको परिवर्तनले मात्र पर्याप्त नहुने, नेतृत्वमा इमान्दारिता र सुशासनप्रतिको दृढ इच्छाशक्ति आवश्यक भएको स्पष्ट पारे। राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नेतृत्वले राष्ट्रलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिए। उनले ‘नीतिभन्दा नातालाई प्राथमिकता दिने प्रवृत्तिले सुशासन कमजोर बनाउने’ पनि बताए।
पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले पनि सत्तामा रहेका राजनीतिक दलहरू सुशासनको पक्षमा जिम्मेवार भएर उभिन नसकेसम्म यो नारामा सीमित हुने बताएका छन्। उनले संसद्, न्यायालयजस्ता संवैधानिक निकायहरू बलिया हुन आवश्यक रहेको उल्लेख गरे। सम्मेलनमा नागरिक सहभागिता, सार्वजनिक सेवा प्रवाहमा सुधार, दिगो विकास र नीतिगत सुधारका विषयमा व्यापक छलफल हुने जनाइएको छ।