समाचार सुन्नुहोस :
काठमाडौँ – गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकले सत्तारूढ नेकपा एमाले र नेपाली कांग्रेसबीच सत्ता साझेदारीमा कुनै समस्या नरहेको स्पष्ट पारेका छन्। पोखरामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले दुई दलबीच राम्रो समन्वय रहेको र सरकार नढल्ने बताए।
हालै प्रमुख विपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले नेतृत्वको सरकार लामो समय टिक्दैन भन्ने अभिव्यक्ति दिएका थिए। साथै, कांग्रेसभित्रैबाट पनि सरकारको कामप्रति आलोचना हुँदै आएको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारको निर्णय तथा कार्यशैलीप्रति खुला प्रश्न उठाउँदै आएका छन्। शर्माले सामाजिक सञ्जालमार्फत सञ्जाल विधेयक, कुलमान प्रकरण, शिक्षक आन्दोलन, त्रिविको उपकुलपतिको राजीनामा, गभर्नर नियुक्ति, अख्तियारसम्बन्धी विधेयक लगायत विषयमा असन्तुष्टि जनाएका थिए।
यस्ता आलोचना र प्रचण्डको टिप्पणीबीच सरकार अस्थिर हुन सक्ने चर्चा चले पनि गृहमन्त्री लेखकले ती आशंकालाई खारेज गर्दै कांग्रेस-एमालेको सहकार्य सुदृढ रहेको दाबी गरे। गभर्नर नियुक्तिमा ढिलाइबारे उनले भने, सरकार योग्य व्यक्तिलाई ल्याउने प्रक्रियामा रहेको छ।