समाचार सुन्नुहोस :
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको इच्छाकामना गाउँपालिकामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सरकार ढल्ने चर्चा निराधार भएको बताएका छन्। प्रशासकीय भवन उद्घाटनको अवसरमा बोल्दै उनले देशको विकास र सुशासनका लागि कांग्रेस र एमालेजस्ता प्रमुख दलहरूले मिलेर सरकार गठन गरेको स्पष्ट पारे।
प्रधानमन्त्री ओलीले अफवाहमा ध्यान दिनु नपर्ने भन्दै सबैलाई ढुक्क भएर विकासमा लाग्न आह्वान गरे। उनले भने, ‘हाम्रो साझा उद्देश्य भनेको समृद्ध नेपाल, सुखी नेपाली बनाउनु हो।’ ‘सुखी नेपाली, समृद्ध नेपाल’ नारालाई उनले एउटा सानो क्याप्सुलमा समेटिएको विशाल औषधिसँग तुलना गरे। इच्छाकामनालाई उनले प्राकृतिक सौन्दर्य, धार्मिक महत्व र पर्यटकीय सम्भावनाले भरिपूर्ण स्थानको रूपमा वर्णन गरे।
मनकामना मन्दिरको दर्शन, जंगल सफारी र गर्मीमा शीतलता महसुस गर्ने गन्तव्यका रूपमा इच्छाकामनाको उल्लेख गर्दै उनले सुरक्षित आवास, कृषि, पर्यटन र स्थानीय स्तरमा आयआर्जन बढाउन सबैको सहभागिता आवश्यक रहेको धारणा राखे। कार्यक्रमको अवसरमा प्रधानमन्त्री ओलीले ४ करोड २ लाख रुपैयाँको लागतमा निर्माण भएको चारतले प्रशासकीय भवनको उद्घाटन समेत गरेका थिए।