काठमाडौं – हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा विवादमा तानिएकी छन् । हेटौंडा-४, हुप्रचौरमा स्नातक तहमा अध्ययनरत ९ जना युवाले सुरु गरेको ‘द नाइन्टिन सैलुन’ नामक सैलुनको उद्घाटन वैशाख ३ गते मेयर लामाले गरेकी थिइन् ।
उद्घाटन समारोहमा उनले सैलुनलाई आवश्यक सहयोग गर्ने वाचा गरिन् । सैलुनलाई तालिम केन्द्रको रूपमा पनि विकास गर्ने योजना रहेको सञ्चालकहरुको भनाइ छ। युवाहरुले एक थान एसी र एक थान इन्भर्टर माग गर्दै उपमहानगरपालिकामा निवेदन दिएपछि मेयर लामाले सम्बन्धित जिन्सी शाखालाई तोकआदेश दिएकी थिइन् । यही आदेशपछि सामाजिक सञ्जालमा उनको आलोचना हुन थाल्यो ।
मेयर लामाले आफूले उद्घाटन कार्यक्रममा बोल्नेक्रममा सहयोगको प्रतिवद्धता गरेको स्वीकार गरिन् । ‘युवाहरुले स्वरोजगारको राम्रो पहल गरेका छन्, र मैले उद्घाटन कार्यक्रममा सहभागी भएर उनीहरुको उत्साह बढाएकी हुँ,’ उनले भनिन्, ‘उनीहरुको योजना र प्रतिबद्धता देखेर आवश्यक सहयोग गर्ने इच्छा जनाएकी थिएँ । तर, सहयोगका लागि पनि प्रक्रिया र नियम पालना गर्नुपर्छ ।’
उनका अनुसार, लागतको मूल्याङ्कनपछि मात्र कार्यपालिकाको बैठकबाट निर्णय गरी सहयोग गर्न सकिनेछ । ‘उपमहानगरले कृषकहरुलाई ट्र्याक्टर लगायत उपकरण दिँदै आएको छ, त्यसैगरी स्वरोजगारमा लागेकाहरुलाई पनि सहयोग गर्नु स्वाभाविक हो,’ उनले थपिन् ।मेयर लामाले आफूलाई निरन्तर आलोचना गर्दै आएको समूहबाट यो विषयलाई उचालिएको दाबी गरेकी छन् । युवाको स्वरोजगारको प्रयासलाई सहयोग गर्न खोज्दा यस्तो आलोचना हुनु दुःखद भएको उनको भनाइ छ ।